Thursday, June 30

भोलिबाट उद्धार उडान समेत रोक्ने घोषणा, हजारौं हवाई यात्रु प्रभावित हुने भएका छन्

2022-06-21 54

काठमाडौं । विमानहरुको रात्रिकालीन पार्किङ विवादले भोलि बुधबारदेखि अन्तरिक उडान अवरुद्ध हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि उद्धार र आपतकालीनसहित सबै प्रकारका उडान रोक्ने घोषणा गरेको हो । यसले हजारौं हवाई यात्रु प्रभावित हुने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षालाई थप सुदृढीकरण गर्ने भन्दै असार ७ गतेदेखि आन्तरिक उडान गर्ने हेलिकप्टर र विमानलाई उडान अनुमतिपत्रले तोकेको विमानस्थलमै राख्नुपर्ने गरी सर्कुलन जारी गरेको थियो । दुई दिनको समय दिएर धेरै वायुयानलाई उपत्यका बाहिर रात्री विसान गर्न जानुपर्ने व्यवस्था गरेपछि वायुसेवा सञ्चालकहरु आन्दोलित भएका हुन् ।

नागरिक उड्डयन प्राधिकरणले दमनकारी नीति लिएकाकाले विरोध गर्नु आफूहरुको बाध्यता भएको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापा बताउँछन् । ‘हामी ३९/४० अर्बको पोर्टफोलियो भएका वायुसेवा कम्पनी हौं, राज्यलाई करोडौं कर तिर्छौं । तर प्राधिकरणले दमनकारी नीति ल्यायो, हामीलाई ट्रक व्यवसायी जस्तै व्यवहार गर्‍यो,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

नागरिक उड्डयन प्राधिकरणले हड्तालमा गए कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार नै आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक प्रदीप अधिकारीले भने, ‘यो सेवा हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने नभुल्नू ।’

तर मंगलबार साँझसम्म यो विवाद सल्टिएको छैन । वायुसेवा कम्पनीहरुले यसअघि विक्री गरेका टिकटहरु रद्द गरिएको सूचना निकालेको छ भने नयाँ बुकिङ पनि लिएको छैन ।

बायाँबाट प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापा
सरकारी तथ्यांकअनुसार आन्तरिकतर्फ दैनिक १५ हजारसम्म यात्रुको यात्रा गर्ने गरेका छन् । भोलि बुधबारदेखि उडान बन्द हुँदा वैदेशिक रोजगारीमा जानेदेखि उपचारका लागि आपतकालीन अवस्थामा यात्रा गर्नुपर्ने यात्रुसम्म मारमा पर्ने भएका छन् ।

किन उपत्यका बाहिर पार्किङ ?

नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलको पार्किङ क्षमता १७ वटा जहाजका लागि हो । तर अहिले ५२ वटा जहाज पार्किङ गर्ने भइरहेको छ । आन्तरिक वायुसेवा कम्पनीले काठमाडौं केन्दि्रत उडान गर्दा होल्ड, डिलेदेखि टर्मिनल भवनमा भिडभाड भएको जस्ता समस्या देखिएको थियो । यसलाई समाधान गर्न भदै प्राधिकरणले ११ वैशाख २०७९ मा अध्ययन कार्यदल बनायो ।

कार्यदलमा प्राधिकरणको तर्फबाट त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरसहित ७ जना र वायुसेवा कम्पनीका तर्फबाट बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमाल, श्री एयरलाइन्सका प्रवन्ध निर्देशक सुधिर मित्तलसहितका प्रतिनिधि थिए ।

प्राधिकरणका अनुसार कार्यदलले उडान अनुमति दिँदा सम्बन्धित विमानको आधार विमानस्थल ( जहाँबाट विहान पहिलो उडान हुन्छ)मै रात्रीकालीन विसान (पार्किङ) गर्ने व्यवस्था गर्नुपर्ने सिफारिस गर्‍यो । त्यही आधारमा ५ असारमा सर्कुलर जारी गर्दै हेलिकप्टर कम्पनीले असार ७ गतेदेखि तोकिएको आधार विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नपर्ने बतायो । हवाइजहाज सञ्चालक कम्पनीहरुले भने १३ असारदेखि तोकिएको आधार 

विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नपर्ने बतायो । हवाइजहाज सञ्चालक कम्पनीहरुले भने १३ असारदेखि तोकिएको आधार विमानस्थलमा रात्री बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने सर्कुलर थियो ।

यो सर्कुलरका कारण ३५ वटा जहाजलाई रात्रीकालीन विसानका लागि उपत्यका बाहिर जानुपर्ने भयो ।

प्रतिकृया दिनुहोस्