Sunday, September 25

बालेनको च’ मत्कार बल्ल सुरु, अब यसरी क’ माइन्छ फोहोरबाट मो’ हर

2022-08-08 372

यही साउन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ। पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै त्यस्ता फोहर यही नै व्यवस्थापन गर्न लागिएको हो। काठमाडौँ महानगरपालिकाले कुहिने फोहोरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र सोही स्थानबाट नै काम सुरु गर्ने जनाएको छ।

उक्त स्थानमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहोरको व्यवस्थापन गरी मल उत्पादन गर्ने सकिने बताइएको छ। उक्त स्थानमा हाल आठ वडाबाट उत्पादन हुने कुहिने फोहरको व्यवस्थापन गर्न सकिने छ। उत्पादित मल सहुलियत दरमा बिक्री गर्ने तयारी पनि कामपाको छ।

योसँगै उपत्यकाको अन्य स्थानमा पनि थप जग्गा रोज्ने काम भइरहेको छ। सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्‍याउँदा पटक–पटक समस्या आएकाले प्रभावकारीरूपमा फोहोरको दीर्घ समाधानका लागि स्थान पहिचानमा लागेको हो।बञ्चरेडाँडामा हानिकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अभ्यास सुरु गरेको हो।काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार हाल सम्भावित स्थान पहिचान गर्ने काम जारी छ।

यसअन्तर्गत चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र शाहको नेतृत्वमा अन्य स्थानमा पनि जग्गा खोज्ने काम भइरहेको छ। हालसम्म उपलब्ध भएका जग्गामा ५० रोपनीदेखि १५० सम्मको छ। अझै बढी उपयुक्त र कम खर्चिलो जग्गाको खोजीमा लागिरहेको उनले बताए।

फोहर व्यवस्थापनको सहजताकै लागि कामपाले यही साउन १ गतेदेखि कामपाले कुहिने र नकुहिने फोहोरको फरक–फरक तरिकाबाट व्यवस्थापनको काम पनि सुरु गरिसकेको छ। फोहरमैला व्यवस्थापन ऐन विसं २०६८ मा फोहोरको वर्गीकरणको प्रबन्ध गरिएको छ।

निजी फोहर सङ्कलकलाई कानुनी दायरामा ल्याइँदै
काठमाडौँको कूल ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ। फोहर वर्गीकरण योजना भने ३२ सैँ वडामा लागू गरिएको छ।

कामपाले मात्रै फोहर व्यवस्थापन गर्दै आएको नौ वडामा सबै दिन नियमितरुपमा फोहर व्यवस्थापन भइरहेको छ निजीले फोहर व्यवस्थापन गर्दै आएको स्थानमा भने विगत दुई महिनादेखि फोहर व्यवस्थापन हुन नसकेको स्थानीयले गुनासो गरेका छन्।

निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमितरुपमा फोहर व्यवस्थापन हुन नसकेको आरोप छ। आफूले लिएको जिम्मेवारी पूरा नगरेको भन्दै नियमित फोहर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रियाअघि बढाउने चेतावनी दिएको छ।

जिम्मा लिएको स्थानमा फोहर व्यवस्थापनको काम नगरे कानुनी कारबाही गर्ने स्थानीय तहको चेतावनी छ। ललितपुर महानगरपालिकाको प्रमुख चिरीबाबु महर्जनले जुन स्थानमा फोहर उत्पादन हुन्छ सोही स्थानमा नै व्यवस्थापन गरिनुपर्ने जनाउँदै यसका लागि सङ्घीय सरकारले पनि ध्यान दिनुपर्ने धारणा राखे। फोहर व्यवस्थापनसम्बन्धी बन्न लागेको नयाँ कानुनमा सरकारको काम कारबाहीको तहगत स्पष्टरूपमा व्यवस्था हुनुपर्नेमा उनको भनाइ छ ।

फोहरमैला व्यवस्थापन सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी र समन्वयको प्रारुप, सह लगानीको ढाँचा, यससम्बन्धी सार्वजनिक निजी साझेदारी कसरी गर्ने भन्ने विषय, घरायसी, संस्थाजन्य, औद्योगिक, विद्युतीय र विवादपश्चात्काे उत्पन्न हुने फोहरमैला व्यवस्थापन र उत्पादन गर्ने व्यक्तिको दायित्वका बारेमा कानुनमा स्पष्ट व्यवस्था हुनुपर्ने सुझाव प्रमुख महर्जनको छ।

त्यसैगरी विद्यमान सङ्घीय संरचना अनुरुप फोहरमैला व्यवस्थापनमा प्रदेश सरकारको भूमिकालाई समेत समेटी परिवर्तित सङ्घीय परिवेश अनुकूल हुने गरी त्यससम्बन्धी नयाँ कानुनको तर्जुमा गर्नुपर्ने चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीको सुझाव छ।

अब बन्ने कानुनमा फोहरमैलाको उत्सर्जन, सङ्कलन विसर्जन र समग्र व्यवस्थापनमा तहगत सरकारको कार्य जिम्मेवारी र प्रभावकारी कार्यान्वयनको सवाल पनि समावेश हुनुपर्नेमा उनले जोड दिए। उनका अनुसार फोहोरको वर्गीकरण पनि विभिन्न प्रकार सिसा जन्य, प्लास्टिक जन्य, कुहिने फोहर, फलाम जन्य र अस्पतालबाट निस्कने फोहर फरक–फरक तरिकाले व्यवस्थापन गर्नुपर्ने पाटो कानुनमा नै स्पष्ट हुनुपर्छ।

आगामी दिनमा फोहर व्यवस्थापनको लागि स्थान पहिचान गर्दा घरेलु, औद्योगिक र सेवा क्षेत्रलगायत सबै स्रोतबाट सिर्जित फोहरमैलाको व्यवस्थापनको विषय, फोहरमैलाबाट हुने वातावरणीय प्रदूषण र जनस्वास्थ्यमा पर्ने नकारात्मक असर कम गर्ने विषय, फोहरमैलाको समग्र व्यवस्थापनमा तहगत सरकारको जिम्मेवारी, अन्तर स्थानीय तह सहकार्य र यसलाई आर्थिक स्रोतको रूपमा विकास गर्नेजस्ता विषयमा अन्य स्थानीय तहको प्रमुखको पनि जोड रहेको छ।

वैकल्पिक बाटोको खोजी
हरेक वर्ष वर्षा सुरु भएसँगै बाटोकै कारण उपत्यकाको फोहर व्यवस्थापन गर्न कठिन भएको भन्दै वैकल्पिक बाटोको खोजी गर्ने काम अघि बढाइएको छ। हाल फोहर व्यवस्थापन भइरहेको स्थान बञ्चरेडाँडासम्म फोहर व्यवस्थापन गर्नका लागि कामपासहित अन्य १७ वटा स्थानीय तहको पनि सहकार्यमा काम अघि बढेको हो।

मुड्खुखोलादेखि बञ्चरेडाँडासम्म कै बाटोमा पटक पटक समस्या आएका ले हप्तौंसम्म उपत्यकाको फोहर व्यवस्थापनमा समस्या अएको हुँदा आगामी दिनमा त्यस्ता समस्या नआयोस् भनेर विकल्पको तीव्र खोजी गरिएको हो। मुड्खुखोलादेखिकै अर्को गोरेटो बाटोलाई विस्तार गरेर पक्की बाटो बनाउने काम केही दिनमा नै सुरु गरिने भएको छ। यसको लागि कामपामा चालु आर्थिक वर्षमा रु २० करोड बजेट विनियोजन गरेको छ।

‘स्थानीयको सहमतिअनुसार काम’
यसअघिनै उपतयकाको १८ स्थानीय तह र स्थानीयबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल साइडमा फोहर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति भइसकेको छ। सहमतिअनुसार रातिको समयमा फोहर व्यवस्थापन गर्ने, वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने, त्यहाँको दुर्गन्ध हटाउनुपर्ने, फोहर बोक्ने गाडीबाट लिच्चड नचुहिने व्यवस्था मिलाउनुपर्नेलगायतका विषय समावेश छ।

सम्झौताअनुसार काम नभएको भन्दै स्थानीयले आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापनको काम रोक्ने भनिरहँदा उपत्यकाको १८ स्थानीय तहले भने वार्ताबाट समस्या समाधान गर्ने योजना बनाएर बसेको छ ।

जाइकाको सहयोगमा दुई वर्षका लागि भनेर विसं २०६२ मा काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो। आज १७ वर्ष हुँदा पनि त्यहाँ फोहर फ्याँक्ने काम जारी छ। सिसडोलमा चार सय ३२ रोपनी जग्गामा फोहर फालिँदै आएको थियो। बञ्चरेडाँडामा फोहर व्यवस्थापनका लागि भने एक हजार सात सय ९२ रोपनी क्षेत्र छुट्याइएको छ।

काठमाडौँ उपत्यकामा उत्पादन हुने फोहरमध्ये ४० प्रतिशत व्यवस्थापन गर्न सकिन्छ । त्यसको लागि प्रत्येक वडाले पुनः प्रयोग गर्नसक्ने वस्तुको रिद गर्ने तयारी पनि गरिरहेको जाइएको छ। हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहर जान्छ।

निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहर ओसार्ने गरेको छ। बाटो मर्मतको कारण अहिले भने एक सय ५० गाडीले मात्र अन्तिम व्यवस्थापनस्थलमा फोहर विसर्जज गर्ने काम गरिरहेको छ।

सिसडोलमा दैनिक एक हजारदेखि एक हजार दुई मेट्रिक टनसम्म फोहर जाने गरेको छ। विकल्प नहुँदा योजनाविहीन रूपमा त्यहाँ फोहर विसर्जन गरिँदै आएकाले समस्या पटक–पटक बल्झिरहेको छ। सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन गरिएको छ। दुई वर्षअघि नै बञ्चरेडाँडामा फोहर विसर्जनको काम सुरु हुनुपर्नेमा अहिलेसम्म राम्ररी सञ्चालन हुन सकिरहेको छैन।

सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ। उपत्यकाका सडकमा थुपारिने फोहर हप्तौँसम्म नउठ्ने र यसबाट दुर्गन्ध फैलिने समस्या उपत्यकावासीका सामान्य भइसकेको छ।

यी र यस्ता समस्या आगामी दिनमा उपत्यकावासीले सामना गर्न नपर्ने गरी काम भइरहेको कामपाकाे भनाइ छ। त्यसको लागि चरणबद्ध रुपमा काम भइरहेको छ। कहिले स्थानीयको आन्दोलन त कहिले वर्षालगायत विविध कारणले उपत्यकाका चोक गल्लीमा दुर्गन्धित फोहाेरका डङ्गुर छ। फोहरमैला विज्ञ तथा इन्जिनियर सुनिल लम्साल नागरिकबाट वर्गीकरण गरेर सङ्कलन गरिएको फोहोरलाई बञ्चरेडाँडामा पनि केही समयका लागि छुट्टाछुट्टै स्थानमा राख्ने गरी तयारी गरिएको बताउँछन्।

बञ्चरेडाँडाका स्थानीयवासीले विकल्प खोजिरहेको र फोहोरलाई स्रोतबाटै व्यवस्थापन गरी उपयोग गर्नुपर्ने माग आइरहेका बेला दुवै प्रकृतिका फोहर वर्गीकरण गरेर फेरि त्यही ठाउँमा विसर्जन गर्दा समस्या ज्यूँका त्यूँ रहने महानगरबासीको धारणा छ।

विज्ञका अनुसार फोहोरको स्रोतमै वर्गीकरणका साथै उत्पादनमा समेत कमी ल्याउने, प्लाष्टिकको विकल्पमा झोलाको प्रयोग बढाउने, शून्य फोहर (जिरो वेस्ट) अवधारणाको प्रवद्र्धन गर्ने र आधुनिक प्रविधिको प्रयोग गर्नसके केही व्यवस्थापन गरी उपत्यकाभित्रको फोहर व्यवस्थापनका एकै किसिमका आधुनिक विधि अपनाउनु नसके आगामी दिनमा थप समस्याको सामना गर्नुपर्ने छ। रासस

प्रतिकृया दिनुहोस्