Wednesday, June 7

७ वर्षमा बालेनको एक्सनपछि कर बुझाउन तयार भयो फनपार्क, तिर्नुपर्ने कर कति छ ?

2022-09-01 432

राजधानीको भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कले बेलुकासम्म काठमाडौं महानगरपालिकालाई कर बुझाउने भएको छ ।

फनपार्कको व्यवस्थापन पक्ष आज बिहान ११ बजे महानगरको पत्र बुझ्न आएको र बेलुकासम्म तिर्ने प्रतिबद्धता जनाएको महानगरको राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए ।

‘बल्ल उनीहरूको सम्झौता हेर्यौं । सम्झौताअनुसार बहाल कर समाज कल्याण परिषदले बुझाउनुपर्ने रहेछ । समाज कल्याणलाई पत्र पठाउँदै छौँ,’ उनले भने, ‘फनपार्कले ४ वर्षको मनोरञ्जन कर र ७ वर्षको व्यापार कर गरी १८/१९ लाखको हाराहारीमा पुगेको रहेछ,’ उनले भने ।

पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङसमेत सञ्चालक रहेको फनपार्कले ६० रोपनी जग्गा समाज कल्याण परिसद्सँग २०६९ सालमा १५ वर्षका लागि भाडामा लिएको थियो ।

जग्गा भोग चलन गरेबापत पार्कले मासिक ५ लाख रुपैयाँ बुझाउने र वार्षिक ५५ प्रतिशत रकम वृद्धि हुने सम्झौता भएको परिषद्‌का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईले जानकारी दिए ।

त्यस्तै, परिषद्‌ले बुझाउनुपर्ने बहाल करको प्रक्रिया चलिरहेको भट्टराईले जानकारी दिए । ‘बहाल करको प्रक्रिया अलि पहिल्यैदेखि सुरु गरेका छौँ । यो विषयमा काम अघि बढाउँदैछौँ,’ उनले भने ।

बुधबार काठमाडौं महानगरपालिकाले काठमाडौं फनपार्कलाई व्यवसाय कर, बहाल कर, विज्ञापन कर र मनोरञ्जन कर बुझाउन पत्र काटेको थियो ।

महानगरले पार्कलाई सम्पूर्ण कर र जरिवानापत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र नबुुझाए फनपार्क सिलबन्दी गर्ने चेतावनी दिएको थियो ।

प्रतिकृया दिनुहोस्