Saturday, March 25

ना’ङ्गै सडकमा रक्सीले मातेर धम्क्याउने प्रहरी जवानलाई निलम्बन गरिने

2023-03-11 100

जनकपुरधाम। एक प्रहरी जवानले रक्सी सेवन गरी सडकमा हंगामा गरेका छन् । सप्तरीको राजविराजस्थित कुनौली सडक खण्डमा ड्युटीमा रहेका एक प्रहरी जवानले सडकमा सर्वसाधारणलाई गालीगलौज गर्दै मनपरी गरेपछि स्थानीयहरू प्रतिकारमा उत्रिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सञ्जिवकुमार रायले रक्सी सेवन गरी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि हंगामा गरेका हुन् । जसको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । नशामा लठ्ठ उनी सर्ट फुकालेर अर्धनग्न छन्, स्थानीयसँग वादविवाद गरिरहेका छन् ।

हातमा डण्टा लिएर यताउत्ता दौडिरहेको प्रष्टै देखिन्छ । हेलमेट नलगाई आएको एउटा मोटरसाइकल नियन्त्रणमा लिने क्रममा प्रहरी जवान रायले सुरुमा मोटरसाइकल धनीलाई गालीगलौज गर्दै मोटरसाइकलको टायर समातेर सडकमै मोटरसाइकललाई घिसारेको प्रत्यक्षदर्शीहरुले बताए ।

मोटरसाइकल सडकमै घिर्सान थालेपछि स्थानीयले त्यसो नगर्न भन्दा लगाएको बर्दी फुकालेर उनले तथानाम गाली गर्न थालेपछि भेला भएका स्थानीयहरूले प्रतिकार गरेका थिए । स्थानीयका अनुसार हिजो साँझ ५ बजेतिर उनले रक्सी सेवन गरी नशामा लठ्ठिएर सडकमा सवारी चेकजाँच गर्न थालेका थिए ।

उनले सर्ट फुकालेर सडकमै बडी देखाइरहेको देखिन्छ । उनको यो चाला हेर्न भीडै लागेको थियो । जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गरेको छ । रायलाई निलम्बन गर्ने प्रक्रिया पनि अगाडि बढाइसकिएको छ ।

प्रतिकृया दिनुहोस्