राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्वनिर्धारित चुनावी प्रचार रोकेका छन्।
चितवन-२ मा रास्वपाबाट उम्मेदवार बनेका लामिछाने निजी सवारी चालक दिलबहादुर थापा घरको छतबाट लडेर गम्भीर घाइते भएपछि आज बारामा गर्ने भनिएका चुनावी प्रचारका कार्यक्रम सहभागी नभएका हुन्।
उनी अहिले थापाको उपचार भइरहेको भरतपुरस्थित पुरानो मेडिकल कलेजमै छन्।‘आज बिहान चितवनमा केही घरदैलो गरेर बारा जाने कार्यक्रम थियो तर घटना भएपछि उहाँ बारा नगएर चितवनमै हुनुहुन्छ,’ लामिछानेनिकट स्रोतले भन्यो,‘अस्पतालमा गएर ड्राइभरलाई भेट्नुभएको छ।’
बारा-२ मा उम्मेदवार रहेका रमेश खरेल र लामिछानेले आज ७ ठाउँमा कोणसभालाई सम्बोधन गर्ने कार्यक्रम थियो।सोमबार विहान ४ बजेतिर भरतपुर-११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको छ।
चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ। उनी अहिले अचेत छन्।‘माथिबाट खस्दा घाँटी गमलामा परेछ। भाँचिएको हड्डीको अपरेशन भएर अहिले भेन्टिलेटरमा राखिएको छ, टाउको पनि बजारिएको छ, अवस्था गम्भीर छ,’ एसपी कार्कीले भने।
सोमबार बिहान ४ बजेतिर थापा लामिछानेको घरको तेस्रो तलाबाट खसेका थिए। प्रहरीले यस विषयमा विभिन्न व्यक्तिहरूसँग सोधपुछ पनि गरिरहेको छ।थापासँगै रास्वपाका महामन्त्री मुकुल ढकालका ड्राइभर पनि सुतेका थिए।
‘मुकुलका ड्राइभरले घटनाबारे आफूलाई केही जानकारी नभएको बताएका छन्। अरू मानिसले हल्ला गरेपछिमात्र आफू ब्युँझिएको भनेका छन्,’ एसपी कार्कीले भने।४ बजेतिर थापा खसेपछि आवाज आएको थियो। त्यो आवाज सुनेपछि रविका निजी सुरक्षा गार्ड र प्रहरीले के भयो भनेर हेरेका थिए।
प्रहरीले दुई जना ड्राइभर सुतेको कोठामा रक्सीका बोतल पनि फेला पारेको छ।‘उनीहरूले रक्सी खाएका थिए कि थिएनन् भन्ने परीक्षण गर्न रगतको स्याम्पल निकालेर दिएका छौं,’ एसपी कार्कीले भने।
प्रहरीले घटनाबारे अनुसन्धान गर्न कसैलाई नियन्त्रणमा नलिएको भए पनि वरपरका मानिसहरूसँग सोधपुछ गरेको कार्कीले बताए।अहिलेसम्म थापा कसरी खसे भन्ने कारण खुल्न नसकेको उनले बताए।-सेतोपाटी
प्रतिकृया दिनुहोस्