Saturday, October 31

राजनीति त्यागेर कृषिमा : जो कागती खेतीबाट बने करोडौंको मालिक (हेर्नुहोस यस्तो छ कृषिले बदलेको जिन्दगी )

विराटनगर : नेपालका किसानलाई एक करोड रुपैयाँ कमाउन कति वर्ष लाग्ला? धेरै किसानले त आफ्नो जीवनकालभरी पनि करोड रुपैयाँ कमाउन सक्दैनन्। तर मोरङका एक किसान कृषि पेशाबाटै ९ वर्षमा करोड रुपैयाँ आर्जन गर्न सफल भएका छन्।

२०६४ सालमा २ वटा विरुवाबाट कागती खेती सुरु गरेका मोरङ डंग्राहा-३ का किसान ढालुराम माझी करोडपति भएका छन् भन्दा सबैलाई पत्यार नलाग्ला। तर, राजनीतिमा लागेर पैतृक सम्पत्ति गुमाउँदै गएको बेला ५६ वर्षे माझी कागतीबाट एकाएक मालामाल हुँदा आसपासका मात्रै नभएर सुन्ने बुझ्ने मानिसहरु चकित छन्। ‘भएको पुर्ख्यौली सम्पत्ती सकिँदै थियो, यत्तिकैमा मैले २ वटा कागतीको विरुवा लगाएँ,’ माझीले भने, ‘अर्को वर्ष त्यही विरुवाबाट ७ वटा कलमी गरें र विस्तारै व्यवसायिक खेतीको रुपमा विकास गरें।’

अहिले कागती बेचेर वर्षमा २० देखि २५ लाखसम्म आम्दानी गर्ने माझीको शान फेरिएको छ। चौतर्फी ऋण र पारिवारिक बोझका कारण के गरौं र कसो गरौं भएका माझीले जीवनको उर्जाशील समयावधि सकिएपछि सुरु गरेको व्यवसायले भएको प्रगति सबैका लागि उदाहरणीय बनेको छ। ‘खेतमा कागती रोपेको देखेर सुरु सुरुमा मान्छेले गिज्याउँथे,’ उनी सम्झन्छन्, ‘खेतमा काँडा रोपेर आम्दानी गर्ने भयो भनेर खिस्सी गर्थे, अहिले भने देशभरबाट मेरो बगान हेर्न मानिसहरु आएको देख्दा खुसी लाग्छ।’ सिक्न चाहनेका लागि ढालुरामको कागती खेती एउटा विश्वविद्यालय नै हुन सक्छ।

डेढ विगाहाबाट सुरु गरेको ढालुरामको खेती अहिले ७ विगाहामा फैलिएको छ। ‘यसअघि ३ विगाहामा लगाएको थिएँ, यो वर्षदेखि ४ विगाहा जग्गामा थप विरुवा लगाएको छु,’ माझीले भने, ‘२ अढाइ विगाहामा टिक, मसला, सखुवाका काठका विरुवा पनि लगाएको छु।’ कागती बगान पुग्दा जंगल पुगेको अनुभूति हुन्छ। माझीले कागती मात्रै नभएर मेवा, कटहरलगायतका फलफूल पनि रोपेका छन्। बिहान झिसमिसेदेखि कागती खेतीमै रमाइरहने माझीले १३ जना कर्मचारी पनि राखेका छन्। उनले कागतीका दाना मात्रै नभएर अर्ग्यानिक अचार र कलमी विरुवा पनि बेच्ने गरेका छन्। ‘यो वर्ष मैले २८ हजार कागतीका विरुवा तयार गरेको छु,’ माझीले भने, ‘देशलाई कागतीमा आत्मनिर्भर बनाउने मेरो योजना छ, प्रयास गरिरहेको छु।’

देशभरका ३४ जिल्लामा आफूले विरुवा विक्री गरिरहेको बताउने माझीले, घरमै निर्माण गरेको अचार पनि काठमाडौं देखि पोखरासम्म पठाउने गरेका छन्। कृषक ढालुराम माझी कुनै सीप र तालिम बिनै सुरु गरेको कागती खेतिले अहिले पूर्वका केही मागलाई धानिरहेको छ। यकिन तथ्याङ्क नभएपनि अहिलेपनि करोडौंको कागती भारतबाट नेपाल आयात भइरहेको छ। कागती खेतीबाट छिटो र राम्रो आम्दानी हुने भएकाले स्थानीय स्तरमा कागती खेतीको विस्तार गर्नु आवश्यक रहेको कृषि कार्यालयको भनाइ छ। मेहनत र लगनशील भएर लाग्ने हो भने कृषिबाट पनि करोडपति बन्न सकिन्छ भन्ने उदाहरण हुन् ढालुराम।

उनले स्थानीय जातको गोलो र लाम्चो, धनकुटे पारी पात्ले र मद्रासी जातका कागतीका विरुवा लगाएका छन्। २०४९ सालमा नेपाली कांग्रेसबाट डंग्राहा गाविसको अध्यक्षमा जितेका थिए माझीले। तर, अहिले आफूलाई आध्यात्मवादी र सन्त विचारको बताउने माझी आफूले लिएको विचारकै कारण राजनीतिक लाइनको अन्त्य र कृषि पेशा प्रतिको रुचि विकास भएको दाबी गर्छन्। ‘मैले लिएको धार्मिक आस्था र विश्वासका कारण मैले आज यो प्रगति गर्न सकेको हुँ।’

साभार :-अर्जुन आचार्य,थाहाखबर