Thursday, October 1

दशैं मनाउन घर फर्केका दुई युवा नेपालीबाटै नाटकिय तबरबाट लुटिए

कञ्चनपुर, असोज २२- दशैं मनाउन घर फर्कदैँ गरेका दुई युवक भारतमा नेपालीबाटै लुटिएर अलपत्र अवस्थामा महेन्द्रनगर पुगेका छन् । दैलेखको नौमुले गाउँपालिका–४ कालिकाका कृष्ण बुढामगर र दानबहादुर रोकामगर लुटिएर अर्धचेत अवस्थामा सोमबार महेन्द्रनगर पुगेका हुन् ।

उनीहरु दुवैजनाबाट ५५ हजार भारु र एक थान मोवाइल तथा लुगा कपडाको झोलासमेत लुटिएको छ। कृष्णको अनुहारभरि कुटपिट गरेर घाउ भएको छ। नशालु पदार्थ सुंँघाएर बेहोस बनाइएका दानबहादुर अझै राम्ररी होसमा आइसकेका छैनन्।

‘हामी चण्डीगढ बसपार्क छेउमा बनबसा आउने बस कुरेर उभिएका थियौं,’ सोमबार बिहान गड्डचौकी नाका हुँदै नेपाल भित्रिएका कृष्णले भने, ‘त्यही बेला ४ जना नेपालीहरु आएर पैसा देउ भन्दै छेउमा लगेर हात र खुट्टाले कुटे, भएको पैसा र लुगा कपडा सबै लगेर गए।’ अनुहार र शरीरका अन्य भागमा चोट लागेर उनी बेहोस नै भए।

बनबसाबाट हिडेर गड्डाचौकी पुगेका उनीहरु घरसम्म पुग्ने खर्चका लागि प्रहरी र बटुवासँग आग्रह गर्दै थिए। ‘यहांँसम्म त जेनतेन पुगियो, अब घर कसरी पुग्ने,’ कृष्णले भने, ‘दशैंमा रित्तो हात घर फर्किनु पनि कसरी?’ उनले छोरा छोरीका र घरपरिवारका लागि ल्याएका नयाँ लुगाकपडासमेत लुटेराहरुले लगेको बताए।

उनीहरुलाई सुरक्षित आप्रवासको क्षेत्रमा कार्यरत गैर सरकारी संस्था निड्स नेपालले आर्थिक सहयोग गरेर घरसम्म पुर्‍याउने व्यवस्था गरिएको छ। उनीहरुलाई घरसम्म पुग्ने टिकट र बाटो खर्च उपलब्ध गराएर पठाइएको परियोजना प्रमुख प्रकाशचन्द्र मडैले बताए।

साउनमा रोपाइँ सकेर कामको खोजीमा भारत पसेका उनीहरु शुक्रबार घर फर्किदै थिए। सिमलाबाट सिमावर्ती बजार बनबसासम्म आउनेसिधा बस नपाएपछि दुवैजनाले चन्दीगढ हुँदै बनबसा आउने निधो गरे। त्यहीअनुसार उनी बिहानै बस चढेर सांँझ चन्डीगढ पुगे। त्यहांँ पुगेर बसपार्क छेउमै उभिएका बेला ४ जना नेपालीको समूह आएर कृष्णलाई कुटपीट गरे भने दान बहादुरलाई नशालु पदार्थ सुँघाएर बेहोस बनाए।

चाँडपर्वका बेला घर फर्किदा दिनहुँ यसरी लुटिएर आउनेको संख्या धेरै हुन्छ। कतिपय प्रहरीको सम्पर्कमा आउँछन् भने कतिपय जेनतेन घर पुग्छन्। कतिपय त बिच बाटो बाटै फेरि काम गर्न भारततिर पस्ने गरेका छन्। बाटोमा नशालु पदार्थ खुवाएर होस् वा यात्राका क्रममा बढी भाडा लिएर होस् दिनहुँ सयौं नेपाली लुटिने गरेको पाइन्छ।

‘अहिले दैनिक ४/५ हजारको संख्यामा नेपालीहरु घर फर्किदैँछन्,’ इलाका प्रहरी कार्यालय गड्डाचौकीका सई पदमबहादुर बुढामगरले भने, ‘यात्राका क्रममा बढी भाडा लिएर लुटिएका पनि धेरै आइरहेका छन्।’ उनका अनुसार प्रहरीकहांँ लुटिएको जानकारी गराउनेको सवारी साधन पहिचान गरेर लुटिएको रकम फिर्ता पनि गराइएको छ। तर कतिपय झमेला हुने डरले प्रहरीलाईसमेत सहि कुरा नबताएरै जाने गरेकाे उनले बताए। यो खबर कान्तिपुरबाट लिएका हौ ।