Saturday, September 19

विदेश गएको छोरो दसैंका बेला बाकसमा फर्किंदा…….

विर्तामोड । साउदीको जुहेलस्थित एउटा मिनिरल वाटर कम्पनीमा कार्यरत थिए, झापा कन्काई नगरपालिका २ सुरुंगाका ३१ वर्षीय झलक श्रेष्ठ (दीपक)।

असोज ८ गते बिहान श्रीमती विन्दुसँग उनले निकै लामो फोनमा कुरा गरेका थिए।

श्रीमती विन्दुका अनुसार उनले दसैं बिदा नमिलेका कारण तिहारपछि आउने योजना सुनाए। कस्तो विडम्बना! त्यही दिन अपराह्न ४ बजे उनी दुर्घटनामा परे।

तिहारपछि होइन, दसैंअघि नै उनी घर फर्किए तर काठको बाकस (कफिन) मा। आजको कान्तिपुर दैनिकमा पर्वत पोर्तेलले झापाबाट यो दुःखद खबर लेखेका छन्।

जुहेलस्थित अल अब्दुल्लाह अब्दुल वाहक अल वाराक कम्पनीको हेभी ट्रकका चालक थिए दीपक । दुई वर्षअघि युसो ग्लोबल म्यानपावरमार्फत उनी त्यहाँ पुगेका हुन्।

‘ऊ तेस्रोपटक साउदी गएको थियो’, बुवा जितबहादुर भक्कानिए, ‘यसअघि पनि दसैंमा आउने, जाने गथ्र्यो । यो पटकचाहिँ पापी दैवले चुँडेर लग्यो।’

मृत्युको दिन दीपक कम्पनीको मान्छे लिन एयरपोर्ट जाँदै थिए  तर, एयरपोर्ट पुग्न नपाउँदै बीच बाटोमै उनको गाडी दुर्घटना भयो । घटनास्थलमै उनको मृत्यु भयो । मृत्युको भोलिपल्ट मात्रै परिवारले खबर पाएको बताए।

‘छोराको मृत्युको भोलिपल्ट कम्पनीका सुपरभाइजर मनोज पौडेलले फोनबाट खबर सुनाए, तर पत्यार लागेन,’ बुवा जितबहादुरले बिलौना गर्दै भने, ‘यथार्थ रहेछ । अहिले पनि सपनाजस्तो लागिराछ ।’

खाडीमा मृत्यु भएकाको शव ल्याउन साह्रै समस्या छ । मृत्युलगत्तै शव ल्याउने पहल भएको तर प्रक्रिया लामो भएको काका डिगेनले सुनाए। ‘बल्लतल्ल १७ दिनपछि शव ल्याउन सक्यौं,’ उनले भने, ‘साह्रै झमेला हुँदोरहेछ शव ल्याउन ।’

बुधबार दीपकको शव बुझ्न बुवा जितबहादुर, काका डिकेन तथा आफन्त एयरपोर्ट पुगे। धेरैका छोरा दसैं मान्न घर फर्किंदा दीपक भने काठको बाकसमा आए। छोराको शव बुझ्न गएका जितबहादुर र आफन्त भक्कानिए।

‘आफू मर्ने बेलामा छोराको किरिया बस्नुको पीडा कस्तो होला,’ जितबहादुरले बिहीबार सुरुंगास्थित घरमा भने, ‘त्यो मलाईमात्रै थाहा छ ।’ दीपक उनका कान्छा छोरा हुन्।
उनका श्रीमती र एउटा छोरा छन्। ‘नातिको भविष्यको चिन्ताले मलाई सताइरहेको छ,’ आमा पवित्राले चिन्ता गरिन्।