Wednesday, September 23

२० वर्ष नपुग्दै ९० वटा नयाँ कुरा पत्ता लगाएर दुनियाँ चकित पार्ने नेपालका कान्छा बैज्ञानिक …

युवा प्रतिभा पुरस्कारका लागि उद्घोषकले १० युवाको नाम पढ्दै गइन्। त्यसैमा थियो, रामु खत्रीको नाम पनि। ठेगाना दोलखा, उमेर २० वर्ष। उनले यति भनेपछि तालीको गडगडाहटले हल गुञ्जयमान भयो। इन्जिनियरिङमा नयाँ खोज र आविष्कार गरेबापत उनलाई युवा प्रतिभा पुरस्कार दिइएको हो। उनी त खुसी थिए नै, कलिलैमा रामु पुरस्कार थाप्न मञ्चमा उक्लदा राष्ट्रपति विद्यादेवी भण्डारी, युवा तथा खेलकुदमन्त्री राजन केसी लगायतमा समेत बेग्लै चमक देखिन्थ्यो।

 

यो दृश्य विश्व युवा दिवसका अवसरमा गत साता युवा तथा खेलकुद मन्त्रालयद्वारा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमको हो। मन्त्रालयले वार्षिक रूपमा यस्तै कार्यक्रम गर्दै आएको छ। कार्यक्रममा १० युवालाई जनही नगद एक लाख रुपैयाँसहित युवा प्रतिभा पुरस्कार दिइन्छ।यसपटक विभिन्न विद्याबाट पुरस्कृत हुनेमध्ये रामु उमेरले सबैभन्दा कान्छा हुन्। खत्रीका अनुसार मन्त्रालयले २० वर्ष लेखे पनि उनी १८ वर्षका मात्र छन्।

 

१८ वर्षकै उमेरमा उनले ९० भन्दा बढी आविष्कार गरिसकेका छन्। यसैले उनी राष्ट्रिय प्रतिभा पुरस्कारमा छानिए। गत शनिबार नगद एक लाख रुपैयाँ पुरस्कारसहित सम्मानित हुँदा उनी प्रफुल्लित देखिन्थे।‘नयाँ केही कुरा आविष्कार गर्दा पनि खुसी लाग्छ,’ उनले नागरिकसँग भने, ‘आजजति खुसी यसअघि भएको थिइनँ सायद।’रामुले यसअघि ४६ वटा विज्ञान प्रदर्शनीमा प्रथम, पाँच वटामा द्वितीय श्रेणी हासिल गरेका थिए। सन् २०१६ र ०१७ को ‘योङ साइन्टिस समिट’ अवार्ड पनि उनैले जितेका थिए। उनले पुरस्कारमध्ये अहिलेसम्मकै ठूलो राशि राष्ट्रपतिको हातबाट थापेका हुन्।

 

यसरी सुरु भयो आविष्कार

रामु दोलखाको झाँकु गाउँमा जन्मेका हुन्, सामान्य किसान परिवारमा, ०५६ जेठमा। सानोमा उनलाई बुबाआमाले विद्यालयबाहेक अन्यन्त्र निस्कन दिँदैनथे।यसरी घरमा बसेका बेला उनले घरका रेडियो, लाल्टिन लगायत सामग्री खोलेर हेर्थे। त्यसले कसरी काम गर्छ, त्यसबाट अरु के बनाउन सकिन्छ भनेर सोच्थे, अनि त्यसबाट केही बनाउने पनि प्रयास गर्थे।यसरी नै कक्षा २ मा पढ्दै गर्दा उनले धाराको पानीबाट बिजुली निकालेर दुईवटा एइडी बल्ब बाले। गोबर ग्यासबाट बिजुली निकाले, आलु र हावाबाट पनि उनले बिजुली निकाले।त्यसपछि उनको परिवार काठमाडौं आयो। परिवारसँगै उनी पनि काठमाडौं आए। बुबाआमा ज्यालादारी गरेर गुजारा चलाउने माध्यममा लागे। रामुलाई चावहिलस्थित बाल व्यवसायी सामुदायिक विद्यालयमा भर्ना गरियो।

 

काठमाडौं आएपछि पनि रामु आविष्कारमा लागिरहे। सोलार क्याप, काठको पंखा, घाममा सुकाएको कपडा आकाशबाट पानी परे भित्र सारिदिने यन्त्र, हावाकोे चापमापक यन्त्र, बाढी आउनुअघि साइरन बज्ने मेसिन, आवाजको माध्यमबाट लामखुट्टे भगाउने यन्त्र, रोड सफा गर्दै पानीले पखाल्ने यन्त्र, मल्टी वर्कर मेसिन, हात नभएकाहरुले टाउकोबाट चलाउन सक्ने गाडी लगायत यन्त्र रामुले आविष्कार गरिसकेका छन्।‘कक्षा २ मा पढ्दैदेखि आविष्कारका क्षेत्रमा लागेको हुँ,’ रामु भन्छन्, ‘अहिलेसम्म ९० भन्दा बढी यन्त्र तथा चिजको आविष्कार गरिसकेको छु।’ रामु देशभर भइरहने विज्ञान प्रदर्शनीमा पुग्छन् र आफूले आविष्कार गरेका यन्त्र देखाउँछन्।

‘आविष्कार गरेका वस्तु प्रदर्शनी गर्ने गरेको छु,’ उनी भन्छन्, ‘यसलाई व्यावसायिक भने बनाउन सकेको छैन।’एकपटक उनले धारामा पानी आउँदा ट्यांकीमा पानी आफैँ भरिने र भरिएपछि आफैँ बन्द हुने यन्त्र बनाए। यो यन्त्र ६ हजारका दरले ६ वटा बिक्री पनि गरे। विडम्बना, उनले विकास गरे जस्तै यन्त्र उनीबाटै खरिद गरेर लैजानेले बनाइदियो।

 

‘यन्त्र खरिद गरेर लैजानले कपी पेस्ट गरिदिन्छ,’ रामु भन्छन्, ‘आइडी चोरी हुँदा लड्न म कहाँ जाउँ? त्योभन्दा आविष्कार गरेका यन्त्र बिक्री नै गर्दिनँ।’उनको परिवारले अझै पनि ज्यालादारी नै गरेर गुजारा चलाइरहेको छ। यसैले खोज अनुसन्धानका लागि परिवारले पर्याप्त सहयोग गर्न सकेको छैन।‘विज्ञान प्रदर्शनीमा आफ्ना आविष्कार प्रदर्शन गर्दा पाएको पुरस्कार रकम अनुसन्धानमा खर्च गर्ने गरेको छु,’ उनी भन्छन्, ‘बुबाआमाले ज्याला मजदुरी गरेर कमाएको खर्चले परिवारको गुजारा चलाउनै ठीक हुन्छ।’

 

सेन्ट लरेन्स कलेज चावहिलबाट कक्षा १२ को परीक्षा दिएर बसेका रामु अब इन्जिनियरिङ पढ्ने योजनामा छन्। ‘सेन्ट लरेन्सबाट ५० प्रतिशत छात्रावृत्ति पाएको थिएँ, बाँकी शुल्क बुझाउनुपर्थ्यो,’ राम भन्छन्, ‘त्यही शुल्क कलेजमा बुझाउन त सकस हुन्थ्यो। अब इन्जिनियरिङ पढ्न गाह्रो छ तर हिम्मत हारेको छैन। छात्रवृत्तिमा नाम निकाल्न सके इन्जिनियरिङ पढ्छु, नत्र अरु कुनै विषय पढ्नुपर्ला। तर खोज आविष्कारमा लागिरहन्छु।’विज्ञान तथा प्रविधि क्षेत्रमा केही नयाँ आविष्कार गर्ने उनको उद्देश्य छ। आफ्नो उद्देश्यमा सकारात्मक सहयोग हुनेमा उनी आशावादी छन्। भन्छन्, ‘सरकार, संस्था वा व्यक्तिको सहयोग पाइएला भन्ने आशा छ। नपाए पनि हिम्मत हार्दिनँ, निरन्तर अघि बढिरहन्छु।’

from janatanews.com