Tuesday, September 29

विश्वकै दुर्लभ शल्यक्रिया नेपालमा: शल्यक्रिया गर्दा पेटमा नशा फुटेर छताछुल्ल देखेपछि यसरि सम्हाले चिकित्सकले (भिडियो सहित)

काठमाण्डौ – भोजपुरकी ६० वर्षीया हिरामाया तामागं एक महिना देखि कम्मर दुखेर आजित थिइन् । तर अचानक केही दिन देखि पेट पनि सहनै नसक्ने गरी दुख्न थाल्यो । उनी केही समय स्थानिय स्वास्थ्य संस्थामा उपचारका लागि गइन् । तर केही भएन ।

त्यस पछि उनी आफ्नो छोरा राजनलाई लिएर काठमाण्डौ आइन् । काठमाण्डौमा ओम अस्पतालमा पुगेकी हिरामायालाई चिकित्सकले चेकजांच गर्दा पत्ता लगाए उनलाई त विश्वमै दुर्लभ मानिएको रोग लागेको रहेछ ।

चिकित्सकले तत्काल शल्यक्रिया गर्ने सुझाव दिए । शल्यकृयामा जुटे अस्पतालका भास्कुलर चिकित्सक डाक्टर कजनराज श्रेष्ठ सहित प्राध्यापक डाक्टर उत्तमकृष्ण श्रेष्ठ र दिनेश गुरुगं ।

हिरामायालाई इन्फरमन एब्डोमिनल अरोटिक एनुरिजम भन्ने एक प्रकारको दुर्लभ रोग लागेको सर्जन श्रेष्ठले बताए । यो रोग ६० वर्ष उमेर पुगेकाहरुलाई लाग्ने बढी सम्भावना हुन्छ । यो रोग कुल जनसंख्याको शुन्य दशमलव ४ देखि ६ प्रतिशतलाई मात्र लाग्ने ओम अस्पतालका प्रमुख तथा चिकित्सक भोला रिजालले बताए ।

हिरामायाको किड्नी मुनिको मुख्य धमनी च्यातीएर ७ सेन्टिमिटर सम्म पुगेको थियो । “शल्यक्रियामा संलग्न चिकित्सक भन्छन्, सामानन्यतया ५ सेन्टिमिटर सम्म तन्किएको छ भने पनि त्यसलाई हामी क्रिटिकल मान्छौं, उहांको ७ सेन्टिमिटर सम्म च्यातिएको थियो, भगवानले बचाएका रहेछन् ।

चिकित्सकले बिग्रेको धमनीको त्यो नशा काटेर ३० सेन्टिमिटरको प्लाष्टिकको नशा जोडेको छ ।  ओम अस्पतालले त्यो दुर्लभ शल्यक्रिया सफल भएपछि पत्रकार सम्मेलन गरेर त्यसको विषयमा जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा शल्यक्रियाको अनुभव सुनाउंदै चिकित्सक श्रेष्ठले भने, “अप्रेशन गर्नुको विकल्प थिएन , अप्रेशन सुरु गर्यौं, तर भित्र हेर्दा त नशा फुटेर पेटभित्र छताछुल्ल थियो ।”

उनले अप्रेशन सुरु गरीसकेपछि पेट भित्रको अवस्था देखेपछि बचाउन मुस्किल हुन्छ की भन्ने लागेको बताए । “भित्र छताछुल्ल देखेपछि हामीले पनि आश कम गरेका थियौं, उनले भने, एक घण्टामा १२ प्वाइन्ट रगत चढाउंदा हामीलाई निकै तनाव भयो ।”

उपचारमा ४ लाख रुपैया खर्च भएको हिरामायाका छोरा राजनले बताए । अन्य देशमा यो रोगको उपचारका लागि नेपालको भन्दा डबल खर्च हुने चिकित्सकले बताएका छन् । हिरामायाको शल्यक्रियाका लागि ४ घण्टाको समय लागेको थियो । उनी ६ दिनको अस्पताल बसाई पछि घर फर्केकी छन् ।

चिकित्सकले हिरामायालाई ३ महिनामा फेरी फलोअपका लागि अस्पताल आउन सुझाएको छ । एक वर्ष पछि उनको शरिरको पुरै जांच गर्नुपर्ने चिकित्सक श्रेष्ठले बताएका छन् ।-लाइटनेपालबाट

हेर्नुहोस यो भिडियो