भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ पुरा हेर्नुहोला । यो पनि: मेलम्चीको पानी आउने भयो उपत्यकामा
काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालले अधिकांश स्थानमा नयाँ र कतिपय स्थानमा पुरानो पाइपबाट वितरणका लागि तयारी अघि बढाएको हो ।
निर्देशनालयको जिम्मेवारी सुन्दरीजलमा पानी झरेपछि उपत्यकामा समानुपातिक वितरण गर्न पूर्वाधार तयार गर्ने भएकाले त्यसैको काम भइरहेको निर्देशनालयका सूचना अधिकारी उज्ज्वल प्रजापतिले बताए । उनका अनुसार धेरै काम सकिए पनि अहिले बाँकी काम भइरहेको छ । उनले भने, “पाइप निर्माण भएका ठाउँमा नयाँ र नभएका स्थानमा पुरानो पाइपबाटै पानी वितरण गर्ने योजना छ ।”
पानी वितरणका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण सकिएका ठाउँमा परीक्षण टेस्टिङ एण्ड कमिसनिङ भइरहेको सूचना अधिकारी प्रजापतिले जानकारी दिएका छन् । निर्देशनालयले नयाँ निर्माण भएका पाइपहरुमा चुहावट छ÷छैन भन्ने हेरिरहेको छ । कतिपय सानो क्षेत्रमा ट्याङ्करको पानीबाट परीक्षण भइरहेको छ । ठूलो क्षेत्रमा गर्न बाँकी भएको र त्यहाँ पानी उपत्यकामा खसेपछि परीक्षण हुने उहाँको भनाइ छ ।
उपत्यकामा मेलम्चीको पानी आएपछि पुरानो पाइपबाट वितरण हुँदा नयाँ पाइपको परीक्षण सँगसँगै अघि बढाइनेछ । समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदैछ । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७÷१७ करोड गरी जम्मा ५१ करोड लिटर उपत्यकामा आउनेछ ।
पहिलो चरणमा आउने दैनिक आउने १७ करोड लिटर पानीको वितरणका लागि पूर्वाधार निर्माण गरिएको निर्देशनालयले जनाएको छ । यो पानी चक्रपथभित्र सबै ठाउँमा वितरण हुन्छ । पहिलो चरणमा नै पानी मध्यपुर, कीर्तिपुरमा समेत वितरण हुने बताइएको छ । कपनमा पनि पानी वितरणका लागि पाइप निर्माण अघि बढाइएको छ । चक्रपथ बाहिर अहिले यी तीन ठाउँमा मात्रै पानी वितरण हुनेछ ।
निर्देशनालयले पानी वितरणका लागि आवश्यक पाइपलाइन र नौ स्थानमा ट्याङ्की निर्माण गरिसकेको जनाएको छ । चक्रपथभित्र पाइपलाइन निर्माणका क्रममा भएका स्थानमा पुरानो पाइपबाट पानी वितरण हुने सूचना अधिकारी प्रजापतिले जानकारी दिए । चक्रपथभित्र नयाँ पाइपलाइन नभएका स्थानमा स्वयम्भू, ताहचल, पानीपोखरीलगायतका क्षेत्र पर्छन् । यी स्थानमा गत साउनमा ठेक्का सम्झौता गरिएको र चालु आवभित्रै निर्माण सम्पन्न गरिने उनको भनाइ छ ।
निर्देशनालयले निर्माण गरेको ट्याङ्की काठमाडौँमा लाजिम्पाट, बाँसबारी पानीपोखरी, बालाजु, महाँकाल, ललितपुरको खुमलटार र भक्तपुरको कटुञ्जेलगायतका स्थान रहेका छन् । सरकारले गत असार महिनामा सुरुङको परीक्षण गर्दा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ ।
प्रतिकृया दिनुहोस्