Monday, September 21

कर छली भित्रियका गाडीमाथि डोजर सरर

भन्सार छलेर ल्याइएका र कर नै नतिरी सडकमा गुड्ने सवारी साधनलाई नियन्त्रण गर्न फिलिपिन्समा सरकारले अनौठो निर्णय गरेको छ । ती साधनहरूका कारण मुलुकमा भ्रष्टाचार बढेको भन्दै त्यस्ता साधन ध्वस्त गर्ने अभियान सरकारले सुरु गरेको हो ।

सरकारले कर चुक्ता नगरेकाको बिलासी, महँगा र ब्रान्डेड कारहरूमाथि मंगलबार डोजर चलाएको छ । भ्रष्टाचारविरुद्धको अभियानअन्तर्गत यो कारबाही गरिएको सरकारले जनाएको छ । विभिन्न मुलुकबाट ल्याइएका जगुआर, लेक्सस, कोरमिट्टे स्टिंग्रे, पजेरो, बीएमडब्लू, ओडी, मर्सिडिजलगायत २० वटा कारमाथि डोजर चलाएर ध्वस्त बनाइएका छन् । डोजरले क्षति पुर्‍याइएका कारहरूको मूल्य ८ लाख ६० हजार बेलायती पाउन्ड (१२ करोड ३५ लाख ६६ हजार ४ सय २५ रुपैयाँ) रहेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

राष्ट्रपति रोड्रिगो डयुटर्टेले मुलुकमा बढदो भ्रष्टाचारविरुद्धको अभियानअन्तर्गत तस्करी गरी ल्याइएका र कर छलेका कारहरूमाथि डोजर चलाउन निर्देशन दिएका हुन् । मनिलास्थित कर कार्यालय परिसरमा राखिएका केही कारहरूमाथि राष्ट्रपतिले आफ्नै उपस्थितिमा डोजर चलाए ।

आतंकवादी र ड्रग माफियालाई कुनै पनि हालतमा नछाड्ने उद्घोष गरेका राष्ट्रपति डयुटर्टेले मुलुकमा भ्रष्टाचार उन्मूलनको अभियानसमेत चलाएको सन्देश सञ्चार गर्न यो कदम चालेको समाचारहरूमा उल्लेख छ । उनले भने, ‘कारको लिलामी एउटा धन्दामा परिणत भएको छ, त्यो धन्दा चलिरहेकाले भ्रष्टाचार नियन्त्रण बाहिर गएको छ, अब सरकारले भ्रष्टाचारविरुद्ध कडा कदम चालिसकेको छ ।’ मंगलबार डोजर चलाएर क्षति पुर्‍याइएका कारमा एउटा ‘ब्लु २००० जागुआर’ समेत रहेको छ । उक्त कारमा बेलायती नम्बर प्लेट थियो । यो कार दर्ता गरी निर्वाध रूपमा सडकमा गुडिरहको थियो । सवारी साधनको वार्षिक परीक्षण ‘एमओटी’ समयमा नगराएको र कारको ‘एमओटी’ को म्याद पाँच वर्षअघि नै समाप्त भइसकेको थियो ।

अधिकारीहरूका अनुसार फिलिपिन्समा जहाजबाट जागुआर ल्याइएको हो । फिलिपिन्सको कर विभागले गत वर्ष मात्रै २ दशमलव ११ मिलियन पाउन्ड (३० करोड ३१ लाख ६८ हजार ७ सय ८७ रुपैयाँ) मूल्य पर्ने कार अवैध रूपमा मुलुकमा भित्रिएको जनाएको छ । त्यस्तै कर छली गरी ल्याइएका ६ सय २३ मिलियन पाउन्ड (८९ अर्ब ५१ करोड ३८ लाख १७ हजार ४ सय ७० रुपैयाँ) बराबरको सामान जफत गरिएको सरकारी तथ्यांकमाउल्लेख छ । ‘यो कदमले कर त उठ्दैन तर कर छली रोक्ने योभन्दा उपयुक्त कदम अरू केही हुनै सक्तैन,’ डयुटर्टेका वित्तमन्त्री कार्लोस डोमिन्गेजले भने । मनिलामा कर विभागले १ सय १४ औं वार्षिकोत्सव मनाउने क्रममा कारहरूमाथि डोजर चलाइएको हो । मनिलासँग फिलिपिन्सको दक्षिणी सहर डयाभाओ र सेबुमा समेत कारहरूमाथि डोजर चलाइएको थियो ।

राष्ट्रपतिले आफ्नो छवर्षे शासनमा मुलुकबाट भ्रष्टाचार र अवैध लागू औषध कारोबारलाई निमिटयान्न पार्ने उद्घोष धेरै पहिले गरिसकेका छन् । फिलिपिन्समा आयातित माल वस्तुहरूबाट कर असुल्ने महत्त्वपूर्ण निकाय कर विभाग हो । एक स्वतन्त्र सर्भेमा मुलुकको सबैभन्दा भ्रष्ट निकायहरूमध्ये कर विभाग पनि एउटा हो । अघिल्लो वर्ष अगस्टमा नियुक्त भएका कर आयुक्त इसिड्रो ल्यापेनाले भने, ‘मैले कार्यभार सम्हालेयता विभागमा रहेका ७ हजार कर्मचारीमध्ये ६ सय ९१ ले राजीनामा दिइसकेका छन् । दुईजना उच्च अधिकारीलाई बर्खास्त गरिएको छ । अन्य १६ लाई निलम्बन गरिएको छ ।’

लागू औषध कारोबारी र अपराधीविरुद्धको लडाइँमा ‘रक्तपात मच्चाउने’ व्यक्तिका रूपमा चिनिने डयुटर्टेले १ सय ८० अर्ब अमेरिकी डलर खर्चेर ‘आधारभूत संरचना निर्माण गर्दै मुलुकलाई स्वर्ण युग’ मा प्रवेश गराउने उद्घोष गरेका छन् । उनले कर प्रणालीमा सुधारको बृहत्तर कार्यक्रमसमेत सार्वजनिक गरिसकेका छन् । (एजेन्सीहरू)