Friday, September 25

एकताले लियो नयाँ मोडेलः प्रचण्ड अध्यक्ष, महासचिव इश्‍वर पोखरेल तर अध्यक्ष सेरेमोनियल (पुरा हेर्नुहोस )

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतालाई टुंगोमा पुर्‍याउने तयारी भइरहेको छ । बन्‍‍दै गरेका प्रदेश सरकारमा माकेले पार्टीबाट मन्त्रीहरु नपठाएपछि एमालेलाई एकताको लागि थप दवाव परेको छ ।

गृहजिल्ला चितवन पुगेका माके अध्यक्ष प्रचण्डले पनि एमालेलाई चेतावनी दिँदै अाफू फड्‍को हान्‍न सक्ने बताएका थिए । माकेका केही नेताहरु र काँग्रेसका नेताहरुबीच भइरहेको वार्ताबारे जानकारी पाएपछि एमाले झन् झस्केको छ । एकतालाई अन्तिम रुप दिन नेताहरु अान्तरिक गृहकार्यमा जुटेका छन् ।

एमाले-माकेको चुनावी तालमेल हुँदै एकताको लागि महत्वपूर्ण भूमिका खेलेका उपाध्यक्ष वामदेव गौतमले नयाँ प्रस्ताव ओलीसमक्ष राखेका छन् । गौतमले अध्यक्ष नपाएसम्म प्रचण्ड एकतामा नअाउने निष्कर्ष निकाल्दै एकताको लागि सक्रिय भएका छन् ।

उपाध्यक्ष गौतमले माओवादी केन्द्रलाई अध्यक्ष र एमालेलाई  महासचिव दिनेगरी एकताको नयाँ प्रस्ताव पेश गरेका छन् । गौतमले तयार गरेको प्रस्तावमा अध्‍यक्ष सेरेमोनियल हुने र महासचिव कार्यकारी हुने बताइएको छ ।

यो एकता तत्कालिन माले र मार्क्सवादीबीच भएको जस्तै बनाउने गौतम लागिपरेका छन् । २०४७ को भएको एकीकरणमा महासचिव मदन भण्डारीलाई शक्तिशाली बनाएको थियो भने अध्यक्ष मनमोहन अधिकारीलाई सेरेमोनियल बनाएको थियो । भण्डारी मालेबाट र अधिकारी मार्क्सवादीबाट एकताको नेतृत्व  गरेका थिए । त्यति बेला तुलनात्मक रुपमा माले बलियो थियो ।

गौतमको प्रस्तावले प्रचण्डलाई मोनमोहन अधिकारी बनाउनेछ । त्यसैगरी गौतमले माधव नेपाल र झलनाथ खनालमध्ये एक जनालाई राष्ट्रपति बनाउने र एमाले महासचिव इश्‍वर पोखरेललाई मदन भण्डारी बनाउने छ ।

गौतमको नयाँ प्रस्तावबारे ओली र प्रचण्डले औपचारिक रुपमा धारणा बनाएका छैनन् । प्रचण्ड चितवनबाट अाज काठमाडौं अाउँदैछन् ।

यसैबीच एकताको टुंगो नलागेपछि नेपाली काँग्रेसले प्रचण्डलाई अाफूतिर तान्‍ने अन्तिम प्रयास गरिरहेको छ । उसले अाफ्नो समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने खेल पनि सुरु गरेको छ । काग्रेसका केही नेताहरुले माकेका नेताहरुलाई गोप्य रुपमा भेटवार्ता गरेको समेत बताइएको छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेताहरुले अाफ्नो पार्टीलाई राष्ट्रपति दिएर प्रचण्डलाई पाँच वर्षको लागि प्रधानमन्त्री बन्‍न अाग्रह गरिरहेका छन् ।

यो समाचार हामीले अनलाइनडबलीबाट साभार गरेका हौ |