Monday, September 28

मेसिनमा बालुवासँगै पेलिएर पनि बाँचे’ बैसाखीको सहारा भो जिन्दगी ..

विजय भुसाल/नुवाकोट ।
‘काममा जान ढिलो भयो होला, आज त ओभरटाइम पनि अलि धेरै समय गर्नुपर्ला भन्ने लाग्यो । विस्तारै आँखा खोल्दा त सिसाबाट साथीहरुले हात हल्लाएको देखेँ,’ नुवाकोटका पुष्पबहादुर घले सात दिनपछि होसमा आउँदाको क्षण सम्झनुहुन्छ ।

काम गर्दागर्दै बालुवा पेल्ने मेसिनमा बालुवासँगै पेलिनुभएका पुष्प सात दिनपछि होसमा आउनुभएको थियो । विस्तारै आँखा खोल्दा साथीहरु मुस्कुराउँदै हात हल्लाइरहेका थिए ।

मुढोझैँ लडेका पुष्प होसमा आउँदा साथीहरुको अनुहार उज्यालो भयो । तर पुष्प न रुन सक्नुभयो न हाँस्न । सात दिन निदाएर आँखा खोल्दा पुष्पको संसार बदलिसकेको थियो । किनकी दुर्घट्नामा पुष्पले खुट्टा गुमाउनुभएको थियो ।

पुष्प पहिलो पटक २०५५ सालमा साउदी जानुभएको थियो । पाँच वर्ष काम गर्नुभयो । जग्गा जोड्नुभयो । तर दोस्रो पटक जाँदा भने साउदीले कहिले नजोडिने गरी उहाँको जीवन चकनाचुर पारिदियो ।

२०६३ सालमा दोस्रो पटक साउदी जाँदा पुष्पको एउटै सपना थियो ‘यस पल्ट कमाएको पैसाले नेपालमै केही व्यवसाय गर्छु ।’ कन्स्ट्रक्सन प्लान मेन्टेनेन्स्को काम थियो पुष्पको । आठ महिना भएको थियो साउदी पुगेको । पुष्प सधैँझैँ कम्पनीमा दुई तलामाथि काम गरिरहनुभएको थियो ।

‘काम गर्दागर्दै बालुवा पेल्ने मेसिनमा परेँ । एकछिन त बालुवासँगै पेलिएँ । मेसिनले तल फ्याँकिदियो,’ पुष्प लामो सास तान्दै भन्नुहुन्छ, ‘दाहिने गालापट्टीको भाग मज्जाले बजारियो । बेस्सरी चिच्याएँ, त्यसपछि के भयो थाहा पाइन,’ पुष्पलाई नौ वर्षअघिको दुर्घट्ना सम्झँदा अहिले पनि नमज्जाले दुखिरहेको थियो ।

पुष्पलाई होसमा आउँदा पनि काममा जान हतार थियो । ओभरटाइम गरेर अलि धेरै कमाउनु थियो । तर पुष्प उठ्न सक्नुभएन । साथीभाइ पुष्पकै छेउमा गए । हालखबर सोधे । ‘एउटा साथीले खुट्टै गयो अब के गर्ला भने । यसो खुट्टामा हेरेको त हो पो रै छ । म त न रुन सके न बोल्न,’ पुष्पका गहभरी आँसु भरियो ।

पुष्पले दुर्घटनामा देब्रे खुट्टा गुमाउनुभएको थियो । पुष्पको मनमा प्रश्नहरु आँधी सरी आए । अब के होला ? ‘देब्रे खुट्टो थिएन । अनि दाहिने हात पनि नचल्ने । धन्न बाँचेछु जस्तो लाग्यो, घरपरिवार, छोराछोरी, श्रीमती झलझली आँखामा आए,’ पुष्प सम्झिनुहुन्छ ।

पुष्पलाई एक महिना साउदीको सरकारी अस्पतालमा आइसियुमा बस्नुभयो । सात महिना निजी अस्पतालमा । अस्पतालको शैयामै पुष्पका आठ महिना बिते । कम्पनी फर्किए पनि पुष्पले १७ महिनासम्म अस्पताल धाउनुभयो । २०६५ सालको अन्त्यतिर पुष्प घर फर्कनुभयो ।

कमाउने सपना लिएर उडेका पुष्प ह्वीलचेयरमा गुड्दै विमानस्थलबाट बाहिर निस्कनुभयो । पुष्पका आशा र सपना सकिएको थियो । तर भरोसा भने श्रीमती र छोराछोरी थिए ।

नेपाल फर्किएपछि पुष्प एक वर्षसम्म ससुरालीमा बस्नुभयो । आठ महिनाको कमाइ, साथीभाइको सरसहयोग, म्यानपावर र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट पाएको सहयोगले उहाँले त्रिशुलीमा एकतले घर बनाउनुभयो ।

पुष्प घरमा फर्केपछि २/३ वर्षसम्म घरव्यवहार राम्रै चलेको थियो । मेसिनमा घोलिएका पुष्पको खुट्टा त थिएन नै, साथसाभै उहाँको स्वास्थ्यमा पनि समस्या आइरह्यो । शरीरभरी लागेका टाँका दुखिरहन्छन् ।

‘पेटमा पनि उस्तै चोट लागेको छ । यीनै चोटले मलाई परिवारसँग टाढा गरायो । विस्तारै श्रीमतीसँग सम्बन्ध चिसियो,’ पुष्प गुनासो गर्नुहुन्छ । पुष्पलाई खुट्टा गुमाए पनि लाग्थ्यो श्रीमती वैशाखी बन्छिन् ।

तर पुष्पले सोचेजस्तो साथ परिवारबाट मिलेन । तीन वर्षपछि पुष्पलाई पत्तै नदिई श्रीमती विदेश लागिन् । श्रीमती हिँडेपछि तीन सन्तान हुर्काउने जिम्मेवारी पनि पुष्पकै काँध आइलाग्यो ।

‘घरबाहेक केही थिएन । म अपाङ्ग भएर त होला नि उनले पनि छाडेर गइन,’ पुष्प आफू अपाङ्ग नभएको भए श्रीमतीले साथ दिन्थिन् होला भनेर चित्त बुझाउनुहुन्छ ।
पुष्पले घरमै किराना पसल खोल्नुभएको छ ।

सकिनसकी वैशाखीको साहारामा उहाँ सामान बेच्नुुहुन्छ । कमाइले पुष्पको बिहान बेलुकाको छाक टरेको छ । भन्नुहुन्छ, ‘खुट्टा गए पनि सास गएन । यही सास जोगाउन घिस्रिरहेको छु ।’