Wednesday, July 15

खुशिको खबर: कोशी अस्पताल विराटनगरबाट कोरोनालाई जितेर डिस्चार्ज हुदै ६ जना (भिडियो सहित)

विराटनगर – कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ६ जना कोरोना संक्रमितको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ। उदयपुरबाट उनीहरुसँग संक्रमित भेटिएपछि विराटनगर ल्याइएका अन्य ७ जनाको भने उपचार भइरहेको छ।

कोरोना मुक्त भएका ६ जनालाई आज विहान अस्पतालले डिस्चार्ज गरेको हो। सबै ६ जना भारतको दिल्लीका नागरिक हुन्। यस अघि उनीहरु उदयपुरको एक मस्जिदमा बस्दै आएका थिए। डिस्चार्ज भएका उनीहरुलाई विराटनगरकै एक मस्जिदमा राख्ने तयारी गरिएको छ।

डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन्।

भारतमा लकडाउन भएको कारणले स्थानीय मदरसाको जिम्मा लगाएर ६ जनालाई डिस्चार्ज गरिएको कोशी अस्पतालका मेडिसिन विभागका प्रमुख डा दीपक सिग्देलले जानकारी दिए। डिस्चार्ज भएका बिरामीलाई सामाजिक दुरी कायम गरी सेल्फ आइसोलेसनमा बस्नलाई अनुरोध गरिएको उनले बताए। १४ दिनपछि पुनःपरीक्षण गरिने उनको भनाइ छ।

उनीहरुको शरीरमा एन्टी बडीको विकास भयो भएन त्यसको परीक्षण गरिने उनले बताए। अन्य संक्रमितको अवस्था भने सामान्य रहेको उनले जानकारी दिए। ‘थप संक्रमितको पनि परीक्षण गरिरहेका छौ, जतिसक्दो नेगिटिभ आउछ त्यति चाँडो अरुको पनि डिस्चार्ज गर्छौ,’ उनले भने। गत वैशाख ५ र ६ गते उदयपुरको त्रियुगास्थित भुल्केबाट ल्याइएका १३ मध्ये ६ जनाको रिपोर्ट ३ पटकसम्म नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। उनीहरुलाई अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाई गरे। विराटनगरको कोशी अस्पतालमा अब २५ जना उपचाररत छन्।

यहाँ  भिडियो हेर्नुहोस्…