Saturday, October 31

सर्वसाधारणलाई खुशीको खबर, अब छिट्टै नै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने तयारीमा।

काठमाडौं – प्रदेश ५ को आर्थिक विकासको ढोका खोल्ने अपेक्षा गरिएको राष्ट्रिय गौरवको आयोजना भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले गति लिएको छ । यो विमानस्थल निर्माणसँगै काठमाडौंबाहिरबाट पनि अन्य मुुलुकसँग हवाईसेवा सुरु हुनेछ । विमानस्थलबाट बुद्धको जन्मभूमि लुम्बिनी २० किलोमिटर दूरीमा पर्छ । लुम्बिनी आउने बौद्धमार्गीका लागि यो विमानस्थल सहज हुनेछ । पर्यटन प्रवद्र्धनलाई प्रभावकारी बनाउन सके लाखौँ पर्यटकलाई लुम्बिनी भित्राउन सकिनेछ ।

सहयोग रोक्ने एडिबीको चेतावनी
निर्माणमा ढिलाइ गरेको जनाउँदै एडिबीले आर्थिक सहायता रोक्ने चेतावनी दिएको छ । समयमै काम सम्पन्न नगरेको र भइरहेका काम पनि सन्तोषजनक तरिकाबाट अगाडि नबढेको एडिबीले चिनियाँ कम्पनीलाई चेतावनीपत्र दिँदै आएको परियोजना प्रमुख शर्माले बताए ।

धावनमार्गको स्तरोन्नति
सुरुवातमा ७९ बिघा क्षेत्र रहेको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउन दुई सय आठ बिघा क्षेत्र जग्गा अधिग्रहण गरिएको थियो । यसैलाई अन्तर्राष्ट्रिय बनाउन थप पाँच सय बिघा जग्गा अधिग्रहण गरी यसको क्षेत्रफल सात सय ८७ बिघा पु¥याइएको छ । सुरुवातमा एक हजार पाँच सय २० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्गलाई स्तरोन्नति गरेर तीन हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइ बनाइएको छ

दुवैतर्फबाट उडान भर्न सकिने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा लिइएको यो विमानस्थलमा जहाजले पूर्व र पश्चिमबाट उडान भर्न र अवतरण गर्न सक्नेछन् । साथै हुस्सु लागेको वेला तीन सय मिटर भिजिबिलिटीमा पनि विमानले उडान भर्न र अवतरण गर्न सक्नेछन् । अहिले एक हजार ६ सय मिटरभन्दा कम भिजिबिलिटी विमान अवतरण र उडान भर्न समस्या हुन्छ ।

मुआब्जा वितरणमा ढिलाइ
यसका लागि दुई चरणमा सात सय ८७ बिघा जग्गा अधिग्रहण गरिएको छ । दोस्रो चरणमा जमिन अधिग्रहण गरिएका दुई हजार परिवारमध्ये चार सयले मात्रै मुआब्जा पाएका छन् । अहिलेसम्म साढे ६ अर्ब रुपैयाँ बाँडिएको छ । सात हजार कित्ता जग्गाका लागि साढे २३ अर्ब माग गरिएकोमा गत वर्ष साढे चार अर्ब मात्रै निकासा भएको थियो । वितरण प्रक्रिया झन्झटिलो भएकाले ढिलाइ भएको परियोजना प्रमुख शर्माले बताए ।

विस्थापितलाई नमुना बस्ती
जग्गा अधिग्रहण गर्दा विस्थापित स्थानीय बासिन्दाका लागि नमुना बस्ती बनाउने तयारी छ । त्यसका लागि पूर्वाधार विकास गर्न पहिलो चरणमा ३० करोड विनियोजन गरिएको छ । करिब चार सय ७० परिवारका लागि २६ बिघा क्षेत्रमा नयाँ घर बनाइनेछ । कम्तीमा १० धुरमा एउटा घर बनाइनेछ ।

नमुना बस्तीको नक्सा तयार गरिएको छ भने केही समयमै काम सुरु हुने जनाएको छ । सबैका लागि एकै प्रकृतिका घर बनाइनेछन् । त्यसवरिपरि विद्यालय, स्वास्थ्य चौकी, मठमन्दिर बनाइनेछ । बस्तीभित्र मोटर पार्किङ, चार मिटर चौडाइको पैदलमार्ग रहनेछ ।।-लाईटनेपालबाट।।