Monday, September 28

नेपाल भारत सीमामा समस्यै समस्या…

बारा — नेपाल–भारत दक्षिणी खुला सीमा व्यवस्थापन चुनौती बनेको छ । दसगजा अतिक्रमणसँगै विभिन्नखाले अपराध मौलाएका छन् । एकातिर सीमा आसपासका दुबै देशका सर्वसाधारणहरूले खुला सिमानालाई जीवनयापन, सामाजिकीकरण र राजनीतिक आधार बनाएका छन् अर्कोतिर आपराधिक गतिविधि मचाउनेले सहज माध्यम बनाएको सुरक्षा निकायको अभिलेखले पुष्टि हुन्छ ।

तर दुबै देशका सुरक्षा अधिकारीहरूले पछिल्लो समयमा भारतीय र नेपाली सुरक्षाबीच समन्वयमा सुधार भएको दाबी गर्छन् ।

संवेदनशील खुला सीमाकै कारणले हत्या, अपहरण, विस्फोट, साना हतियार र लागूऔषध ओसारपसारजस्ता घटनाको लामो सूची प्रहरी अभिलेखमै देखिन्छ । जनजीविकामा खुला सीमाले सघाए पनि अरू संवेदनशील विषयमा नोक्सानी पुर्‍याइरहेको छ । तस्करी, मानव ओसारपसार, नक्कली नोटको कारोबार रोक्न सरोकारवालालाई धौधौ छ । प्रदेश २ को पर्सादेखि सप्तरीसम्मको यस्तै प्रकृतिका समस्या देखिन्छ ।

‘यी सबै समस्या खुला सीमाकै कारण सिर्जना भएका हुन्,’ बाराका प्रमुख जिल्ला अधिकारी वीजयनारायण मनान्धरले भने, ‘यो समस्या कुनै खास ठाउँका लागि ‘स्पेसिफिक’ नभएर राष्ट्रिय समस्या हो ।’ उनका अनुसार ‘नो म्यान्स ल्यान्ड’ मा खेती गर्ने र झुपडी तथा टहरा बनाउने समान्य कुराझैं भएको छ । ‘यसका लागि हामीले कडाइ गर्न खोजे पनि भारतीय सीमा सुरक्षालगायतका समकक्षी अधिकारीहरूले चासो नै राख्दैनन्,’ उनले भने, ‘उदाहरणका लागि काउन्टर पार्टको बैठकमा अपराधको कुरा उठाउँदा हामीलाई मदिरा बन्द गर्न भन्छन् । यो कसरी सम्भव छ ?’ राज्यलाई कर तिरेर बिक्री गर्ने मदिरा रोक्ने आफ्नो वशको विषय नभएको उनले बताए । ‘पिलर निर्माणमा हाम्रो (वारि) जति बजेट हुन्छ, त्यति पारिको हुँदैन । कसरी हुन्छ व्यवस्थापन ? त्यसैले पारिकाले बेवास्ता गर्दा दसगजामा समस्या देखिन्छ । भारतले कडाइ गर्दै गर्दैन,’ उनले भने । अपराध गर्नेहरूले दुबै देशको सीमावर्ती बस्तीलाई ‘सेल्टर’ बनाएकाले सुरक्षा चुनौती बढेको पाइन्छ ।

नेपालीहरूले दैनिक उपभोग्य बस्तु ल्याउने क्रममा भारतीय एसएसबी सीमा सुरक्षा बलबाट गाली, कुटपिट, बेइज्जती सहनुपर्ने घटना कम हुँदै गएको सुरक्षा अधिकारीहरू बताउँछन् । ‘भारतीय सुरक्षा अधिकारीहरूले अपराध न्यूनीकरणमा सघाउन थालेका छन्,’ प्रमुख जिल्ला अधिकारी मनान्धरले भने । भारतीय सुरक्षालाई विश्वासमा नलिएसम्म वारिको अपराध घटाउन कठिन भएको सुरक्षा अधिकारीहरू बताउँछन् । यसका लागि दुबै देशको सुरक्षा अधिकारीबीच नियमित ‘काउन्टर पार्ट मिटिङ’ आवश्यक छ । दसगजा आसपासमा कतिपय गाउँको नाम दुबैतर्फ एउटै छ । कतिपय स्थानको दसगजामा भारतले पिच सडक नै बनाएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार दुई देशबीचको सीमा अर्थात् दसगजामा १० गज वारिपारिसम्मको क्षेत्रभित्र कसैले कुनै गतिविधि वा उपयोग गर्न नपाइने व्यवस्था छ । दुबै देशबीचको दसगजा खुला रहनुपर्छ । तर ‘नो म्यान्स ल्यान्ड’ भनिने दसगजालाई महोत्तरीको जलेश्वरस्थित मनीबारा भिठ्ठामोडदेखि पश्चिम मनराकट्टी पोखरभिण्डासम्मको दसगजा क्षेत्रमा भारतले वर्षौंदेखि दसगजा मिचेर पिच सडक बनाएको पाइएको छ । भारतले भारतीय सहर भिठ्ठामोड भन्सारबाट सुरसण्ड हुँदै सितामढीसम्म जोडेको पिच सडकअन्तर्गत ३०१ देखि ३०२ नम्बरको जंगे पिलरको जगैसम्म टाँसेर पिच सडक बनाएको हो ।

स्रोतका अनुसार नेपालमा सशस्त्र सीमा सुरक्षा बल गठन भएको ५० वर्ष अघिदेखि नै भारतले उक्त पिच सडक बनाएको हो । पर्साको वीरगन्ज महानगरको छपकैयामा भारतीयले केही साताअघि पिलर सारेको भन्दै विवाद जारी नै छ । यसैगरी सीमावर्ती ओरिया खोला छेउका मिर्जापुर, पिपरा घोडदौल, पिडारीगुठी, सम्भौतालगायतका ठाउँमा भारतीय पक्षसित बेलाबखत विवाद भइरहन्छ । उता सप्तरीमा दुई वर्षअघि सीमाकै विषय लिएर तिलाठी गाउँपालिका निवासी देवनारायण यादव भारतीय एसएसबीबाट कुटिएका थिए । दुबै देशको भौगोलिक बनोट र बसोबासले समेत समस्या पारेको छ ।

नेपाल–भारत मैत्री संघ बाराका अध्यक्ष हीरालाल साहले दुबै देशको नाप नक्सा, नेपालको आर्थिक अवस्था सुधार्न तस्करी नियन्त्रणमा कडाइ गर्नुपर्ने सुझाए । सिमानाको भूगोल (जग्गा मिचिने) र उपभोग्य बस्तु ओसारपसारको विषयले कहिलेकाहीं सीमा वारि र पारिको सुरक्षा बलसहित स्थानीयबीच विवाद हुने गरेको छ । बाराको देवताल गाउँपालिकाको दक्षिण झिटकैयास्थित कटहरिया टोलका पचिसौं नेपालीहरूको जग्गा भारतमा परेकोले त्यहाँ वर्षौदेखि विवाद छ । ‘सीमासित जोडिएका यी सबैखाले समस्या चानचुने छैन,’ मैत्री संघका अध्यक्ष साहले भने, ‘यसप्रति संवेदनशील हुनु महत्त्वपूर्ण विषय हो ।’

कतिपय ठाउँको दसगजामा बालबालिकाहरूको खेल मैदानदेखि मदिरा पसल, चौतारो तथा आँगनका रूपमा प्रयोग भएको पाइन्छ । भारतको विहारमा केही वर्षदेखि मदिरा निषेध गरिएपछि दसगजामै मदिरा पसल थापिएका छन् । यसबाहेक दसगजा कतै चोक बनेको छ भने कतै मेला स्थल ।

अन्नपात दाई गर्न दसगजा रोजिन्छ । कतिपयले खेतबारीसमेत बनाउन चुकेका छैनन् । दसगजाका साना र मझौला खालका सीमा स्तम्भको अवस्था झनै जीर्ण छ । सशस्त्र सीमा सुरक्षा बल बाराका प्रहरी उपरीक्षक बेणुप्रसाद पाठकले सबैखाले जीर्ण स्तम्भहरूको मर्मत नापी विभागबाट भइरहेको दाबी गरे । सीमामा चोरीका सवारी, तस्करी र अवैध आउजाउलाई कडाइका साथ निगरानी गरिएको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

 

गस्ती अभाव

सीमामा सशस्त्र सीमा सुरक्षा बलको गस्तीको अभाव देखिन्छ । भारतीय एसएसबीको तुलनामा नेपाली सशस्त्र प्रहरी सीमामा खासै तैनाथ भएको देखिँदैन । उनीहरू दसगजामै बसेर निगरानी र गस्ती गर्छन् भने नेपाली सशस्त्रको बीओपी (बोर्डर आउट पोस्ट) धेरै भित्र रहेको पाइन्छ । ‘कहिलेकाहीं संयुक्त गस्ती हुन्छ,’ सशस्त्रका एक सुरक्षा अधिकारीले भने, ‘हामीलाई बीओपी राख्न जग्गाको समस्या छ । त्यसैले दसगजाभन्दा धेरै भित्रपट्टि बस्नुपर्ने बाध्यता छ ।’

बारामा ६० किमि लम्बाइ भएको दसगजा सुरक्षाका लागि ६ वटा बीओपीमा इन्सपेक्टरको कमाण्डमा प्रतिपोस्ट ५० जना सुरक्षा बल गरी कुल तीन सय जना परिचालन गरिएको छ । सीमामा दसगजासहित सीमा स्तम्भहरूलाई सुरक्षा, आपराधिक गतिविधि र तस्करी रोक्न २०६४ वैशाखदेखि ‘बीओपी’ स्थापना भएको हो ।

 

‘व्यवस्थापन गर्न सकिन्छ’

नेपाल–भारतबीचको मैत्री सम्बन्ध भनेको प्राचीन सांस्कृतिक निरन्तरता र दैनिक जीवनको अन्तर निर्भरता हो । यो दुबै कुरा खुला सीमाका कारणले भएको हो । खुला सीमा हामीलाई इतिहासले दिएको नासो हो । युरोपमा सताब्दियौंको अनुभवबाट मात्र खुला सीमाको सोच आयो । हामी त उसै उपयोग गरिराखेका छौं । खुला सीमाले गर्दा जोखिम र चुनौतीहरू पनि त्यतिकै छन् ।
सानोतिनो अपराध गर्नेहरू कानुनी सजाय छल्न एकअर्का मुलुकमा गएर बस्ने गर्थे वा प्रहरी प्रशासनको संरक्षणमा अर्को मुलुकमा गई फिरौती असुलीका धन्दा गर्थे, ससाना स्वार्थका लागि नागरिकता बनाउँथे । पछिल्ला केही वर्षदेखि संगठित आपराधिक गिरोह र आतंकवादी शक्तिहरू खुला सीमालाई खुला शयरगाह बनाएका छन् । चुनावमा एक अर्कातिर गएर बाहुबलको प्रयोग गर्ने र राजनीतिक संरक्षण प्राप्त गर्ने क्रम रहेकोमा अब राजनीतिक संरक्षणमा संगठित आपराधिक गिरोह र आतंकवादी समूहले मलजल पाइरहेको छ ।

बदलिँदो सामाजिक आर्थिक अवस्था, प्रविधिको बढ्दो प्रयोग, राज्यतन्त्रको क्षयीकरण, नागरिक जवाफदेहीतामा ह्रास, भावनात्मक सम्बन्धमा कमीले विभिन्न प्रकृतिका अपराधीहरूका लागि खुला सीमा एउटा माध्यम हुन गएको छ । मूल्यान्तरको कमीले हुने वारिपारिको अनियमित कारोबार त हुँदै हो, संगठित रूपमा अनियमितता गर्ने गिरोहले पनि खुला सीमाको फाइदा उठाएका छन् ।
अनेकौं तरिका प्रयोग गरी अवैध तथा मूल्यान्तरका सामानहरूको भन्सार चुहावट गरी ओसारपसार भइरहेको छ । कुनै बेला सुन हुन्छ त कुनै बेला रक्तचन्दन । लागूपदार्थ, नक्कली नोट, म्याद गुज्रेका वा कमसल औषधि वा प्रतिबन्धित औषधि, साना हातहतियार, मानव तस्करी, प्राकृतिक स्रोत, चोरीको इलेक्ट्रोनिक्स उपकरणहरू र गाडीको कारोबार भइरहेको छ ।

पछिल्लो समयमा नयाँनयाँ खालका चुनौतीहरू विकसित भएका छन् । त्यसका लागि संयुक्त पट्रोलिङ गर्नुपर्दछ । सुरक्षा चुनौतीलाई सीमा व्यवस्थापनको एउटा पाटोका रूपमा लिनुपर्दछ । त्यसलाई समान स्तर कायम गर्ने प्रयत्न हुनुपर्दछ । अपराधी भनेको वारि र पारिका हुँदैनन् । उनीहरूलाई मानवता विरोधीका रूपमा लिनुपर्दछ । यसका लागि नाता वा भावनात्मक लगाव देखाइनु हुँदैन । उतातिर गरिरहेको छ, हामीलाई के टाउको दुखाइ भनेर चुप लागेर हुँदैन । खुला सीमामा पर्खाल खडा गर्नु समाधानको उत्तम विकल्प होइन । राज्यको क्षमता वृद्धि गर्नु तथा सीमा क्षेत्रमा आउने सुरक्षा निकायलाई विशेष प्रशिक्षण दिने, सीमा क्षेत्रमा सामानान्तर सडकको व्यवस्था गरी पेट्रोलिङको व्यवस्था गर्ने, सीमा सुरक्षा बलको चौकीलाई अत्याधुनिक साधनस्रोत बनाउने, सीमा क्षेत्रमा आर्थिक पछौटेपनलाई समाप्त गर्न प्याकेजका कार्यक्रम ल्याउने, नागरिकमा खुला सीमाको उपयोग गर्ने दायित्वको चेतना जगाउने, जसरी प्रार्थना स्थलमा जुत्ता लगाएर जाँदा जो कसैले पनि खबरदारी गर्छ ।

यसैगरी सीमा क्षेत्रमा हुने अस्वाभाविक गतिविधिलाई बेलैमा जनाउ दिने काम गर्न सकिन्छ । यस्तो भावनाको विकास भयो भने गलत मनसायका मानिसहरूले नागरिकता बनाउने, आश्रय लिने, फिरौतीका लागि मानिसलाई थुनेर राख्नेजस्ता काम हुँदैन । त्यसैगरी भारतीय समकक्षी विभिन्न चरणको समन्वय गर्न सकिन्छ । बैठकहरू र छलफलका निष्कर्ष वा सम्झदारीहरूलाई संस्थागत स्मृति पत्रमा राख्नुपर्दछ ।

पछिल्ला समयहरूमा केही राम्रा संकेतहरू देखिएका छन् । सीमा क्षेत्रमा प्रहरी प्रशासनको संयुक्त बैठकहरू बसेका छन् । तर अहिले पनि क्षेत्र विशेषमा एकअर्कालाई अपराधिहरूको मिलिभगतमा गुपचुप सुपुर्दगी गर्ने, कब्जामा आएकाहरूलाई ‘इन्काउन्टर’ गरिदिने, कानुनी लडाइँलाई कमजोर बनाइदिने कामहरू भइराखेका छन् । जनस्तरमा आफ्नो दायित्वका क्रममा देखाएको सकारात्मक पहलहरूलाई प्रोत्साहन दिनु जरुरी छ ।
(कुराकानीका आधारमा)
from kantipurdaily.com