Tuesday, October 27

एका बिहानै बाजूराबाट आयो यस्तो दुखद खबर, २ जनाको मृत्यु आधा दर्जन

बाजुरा, बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बल बहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का काली बहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जीप दुर्घटनामा परी पाँचजना घाइते भएका छन् । घाइते हुनेमा बूढीनन्दा नगरपालिका–९ का सत्य माविका शिक्षक तथा नेपाल शिक्षक महासंघका अध्यक्ष जनक बहादुर शाही, गौमुल गाउँपालिका– ६ का गोरख बहादुर रोकाया, हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का खडक रोकाया, स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगरका २५ वर्षीय कर्णबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिएका छन् ।

घाइते भएका मध्ये स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगर गाउँपालिकाका कर्णबहादुर रोकायाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अछामको बयलपाटा रिफर गरिएको प्रहरीले जनाएको छ ।

रिफर गरिएका मध्येको टाउकोमा चोट लागेको छ । कोल्टीबाट मार्तडी आउँदै गरेको से १ ज ९४० नं को जीप जिल्ला स्वास्थ्य कार्यालयको परिसरबाट ५० मिटर तल साँफे–मार्तडी राजमार्गमा खसेको प्रहरीको भनाइ छ । गाडी चालक भने फरार रहेको प्रहरीले बताएको छ । चालकको खोजी कार्य भइरहेको छ ।
रासस