Saturday, October 24

एभेन्जर बाहेक बजाजका सबै मोडलका नेपालमै बाइकको उत्पादन , यस्तो मुल्य

काठमाडौं – नेपाली बजारमा सर्बाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड हो बजाज । बजाजका एक दर्जन बढी मोडलका मोटरसाइकल हाल बजारमा कारोबार भइरहेका छन् । बिगत ३ बर्ष यता बजाजका मोटरसाइकल नेपालमा समेत एसेम्बल्ड हुन थालेका छन् ।

नेपालमै एसेम्बल्ड शुरु भएपनि कुन कुन मोडल यहाँस्थित प्लान्टबाट उत्पादन भइरहेको छ भन्ने बारे कम्पनीले हालसम्म प्रष्ट जानकारी भने दिने गरेको थिएन । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा प्रकाशित मूल्य सूचीमा मोटरसाइकल उत्पत्ति अर्थात उत्पादन भएको मुलुकको नाममा एभेन्जर बाहेक सबै मोडल नेपालमै उत्पादन भएको सूची प्रकाशन भएसँगै बजाजका सबैजसो मोडल नेपालमै उत्पादन हुने गरेको तथ्य बाहिर आएको छ ।

उक्त सूचीमा १४ वटा मोडलका बाइक मध्ये एभेन्जर बाहेक सबै मोडल नेपालमै उत्पादन भएको उल्लेख छ । सूचीमा २ सय २० सय सीसी क्षमताको क्रुजर बाइक एभेन्जर बाहेक १ सय सीसीको प्लाटिनादेखि उच्च सीसी क्षमता भएको बाइक डोमिनार समेत नेपालमै उत्पादन भएको उल्लेख गरिएको हो ।

डोमिनार ४ सय सीसी क्षमता भएको बाइक हो जसमा एबीएस समेत समाबेश गरिएको छ । त्यसैगरी बजाजकै सर्बाधिक लोकिप्रय र सफल मोडल पल्सर १२५, १५०, १६० एनएस, २०० एनएस र २२० सीसी क्षमताका बाइक र डिस्कभरको उत्पादक मुलुक समेत नेपाल नै रहेको उल्लेख छ ।

सूचीमा बजाजकै थ्रि ह्विलर आरई मोडल नेपालमै उत्पादन भएको र अर्को थ्रि ह्विलर म्याक्सिमा भने भारतमा उत्पादन भएको उल्लेख छ ।

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बितरक एबं उत्पादक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नवलपरासीको रामग्राममा प्लान्ट स्थापना गरी स्वदेशमै बाइक एसेम्बल्ड गर्दै आइरहेको छ ।-नेपालअटोबाट