Monday, September 28

भारतले प्रतिबन्ध लगाएपछि नेपालमा ह्वात्तै बढ्यो प्याजको मूल्य ….

काठमाडौँ, भदौ ३० गते ।

भारत सरकारले प्याज निर्यातमा तत्कालकालागि प्रतिबिन्ध लगाएको छ । भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढ्न थालेको छ ।

मंगलबार भने प्याजको मूल्य ७४ देखि ७६ रुपैयाँसम्म कायम भएको छ । सोमबारको तुलनमा मंगलबार प्याजको भाउ करिब २५ प्रतिशतले बढेको छ । तरकारी पसलमा भने एक किलो प्याजको खुद्रा मूल्य ८० रुपैयाँभन्दा बढी पुगेको छ ।

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गत रहेको विदेश व्यापार निर्देशनलालयले सोमबार सूचना जारी गर्दै सबै प्रकारको प्याजको निर्यातमा रोक लगाएको हो ।

दक्षिण भारतमा भारी वर्षाका कारण प्याज उत्पादन घटेकाले भारतमा पनि मूल्य अचाक्ली बढिरहेको छ । कर्नाटक, आन्ध्र प्रदेशलगायतका दक्षिण भारतीय राज्यमा लगातारको वर्षाले प्याजको उत्पादनमा क्षति पुगेको छ ।

भारतमा एक महिनाभित्रमै प्याजको भाउ तीन गुणासम्म महँगो भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दक्षिण एसियामा भारत सबैभन्दा बढी प्याज उत्पादन गर्ने मुलुक हो । नेपाललगायत बंगलादेश, श्रीलंका र मलेसिया भारतीय प्याजमै निर्भर रहेका छन् ।

भारतको सबैभन्दा ठूलो प्याज मण्डीका रुपमा परिचित महाराष्ट्रको लासलागावँमा प्याजको थोक भाउ ३० हजार भारतीय रुपैयाँ प्रतिटन९प्रतिकिलो ३० भारतीय रुपैयाँ० पुगेको टाइम्स अफ् इन्डियाले जनाएको छ ।