Wednesday, September 23

नेपाली भूमिमै भारतले बनायो प्राइभेट बाटो र पुल, नेपाल सरकार बेखवर !

दार्चुला । नेपालको भूमिमा भारतीय पक्षले नेपालकै सहमततिविना महाकाली नदीमा एकतर्फी पुल र बाटो बनाएको छ । केहि हप्ता अगाडि नेपाली पक्षलाई पत्राचार गर्दै भारतीय प्रशासनले आफ्नोतर्फको सडक निर्माणका लागि नेपाली भूमि भएर डोजर ढुवानी गर्नका लागि अनुमति मागेको थियो ।

त्यसको केही दिनपछि महाकाली नदीमा दुई देश जोड्ने चारवटा झोलुङे पुल र नेपाली भूमिमा १२ किलोमिटर लामो गोरेटो बाटो निर्माण तथा मर्मत गर्न लागत विवरण मागेको थियो ।

वर्षातको समयसम्म चारवटा पुल र १२ किलोमिटर बाटो बनाउने तथा तत्काल दुईवटा काठेपुल र २ किलोमिटर गोरेटो बाटो बनाउने भन्दै भारतले फेरी नेपाली पक्षसँंग छलफल गरेको थियो । नेपाली पक्षसँग तीन पटक छुट्टाछुट्टै समयमा पत्राचार, सम्पर्क र छलफल गरेको भारतीय पक्षले नेपाली पक्षको सहमति विना प्रस्तावित दुई वटा काठेपुल र नेपाली भूमिमा बाटो निर्माणसमेत गरेको छ ।

भारतीय पक्षको पत्र आएपछि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले अन्तर्राष्ट्रिय सीमाको विषय भएकाले आफूले यसबारे निर्णय गर्न नसक्ने भन्दै गृह मन्त्रालयको अनुमति माग्नु भएको थियो ।

गृहको अनुमति अहिलेसम्म प्राप्त नभएको उहाँको भनाइ छ । नेपाली पक्षलाई पत्राचार, छलफल मात्रै गर्ने र नेपाली पक्षको सहमति विना पुल र बाटो निर्माण गर्ने कार्य भारतीय पक्षले गरेको छ । नेपाली पक्षसँग जुन विषयमा अनुमति मागिएको छ त्यसबारे औपचारिक छलफल र सहमति नहुँदै भारतले प्रस्तावित काम गरिसकेको छ ।

दार्चुलाको स्थानीय प्रशासनले यी कुनै पनि विषयमा भारतीय पक्षलाई सहमति वा अनुमति नदिएको प्रजिअ गौतमले जानकारी दिनुभयो ।

भारतले भने डोजर ढुवानी गर्ने, दुईवटा काठेपुल निर्माण गर्ने र नेपाली भूमिमा २ किलोमिटर गोरेटो बाटो निर्माण गर्ने कार्य सम्पन्न गरिसकेको छ । यसको पुष्टि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थलगत भ्रमण गरेपछि भएको हो ।

व्यास गाउँपालिकाको वडा नम्बर–२, राप्लाको दुम्लिङभन्दा माथिको क्षेत्रमा भारतले दुई वटा काठेपुल र २ किलोमिटर लामो गोरेटो बाटो निर्माण गरेको जानकारी आफूले पाएको व्यास गाउँपालिका–२, का वडाअध्यक्ष धीरनसिंह बुढाथोकीले बताउनुभयो ।

(स्रोत : न्युज २४)