Tuesday, October 20

गृहमन्त्री बादललाई रवीको सिधाकुराः ‘घुसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्दैन ! साँच्चै हो गृहमन्त्री ज्यु ?’ (भिडियो)

नवनियुत गृहमन्त्री रामबहादुर थापा (बादल)ले मन्त्री बनिसकेपछि एउटा अभिव्यक्ति दिनुभयो । घुसखोरी, नातावाद, कृपावाद अब यो मुलुकमा चल्दैन ।
देशका गृहमन्त्रीले भन्नु भएको कुरा फेरि रिपिट गर्छु घुसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्दैन । साँच्चै हो गृहमन्त्री ज्यु ?

तपाई गृहमन्त्री भएपछि मुलुक त्यस्तै हुन्छ त ? अब चल्दैन भनेको पहिला चल्थ्यो भनेर स्वीकार गर्न हो । यो कुरा संवेदनशील छ, तपाईले यसै भन्नका लागि भ्याट्ट भनिदिनुभएको हो भने बेग्लै कुरा तर जे भन्नु भएको छ त्यसको जीम्मेवारी लिनु हुन्छ र भनेको कुरा पुरा गर्नु हुन्छ भने वाह, गजब्ब भयो ।

नेपालको समस्या भनेकै घुस खोरी, नातावाद र कृपावाद हो । तपाइले त एक सटमा देशको सबैभन्दा ठुलो समस्या नै समाधान गर्ने कुराको उद्घोष गर्नुभयो । भनेको कुरा पुरा गर्ने राजनीतिज्ञहरुको बानी छैन ।

बोल्यो सकियो । न बोलेको के हो थाहा हुन्छ, न बोलेको कुरा जीम्मेवारी लिनु पर्छ न त बोले पछि जसरी पनि पुरा गर्नुपर्छ भन्ने चेत राजनीतिज्ञमा देखिएको छ ।
तपाईले पनि त्यतिकै भनिदिनु भएको हो भने अर्कै कुरा तर पुरा गर्नका लागि भन्नु भएको हो भने केही संकेत दिनुहोस् गृहमन्त्री ज्यु ।

गृहमन्त्रालयको रेकर्डमा कति जना भ्रष्टाचारीको नाम लिष्ट छ मगाउनुहोला । त्यस मध्ये एक जनालाई २४ घण्टा भित्र समातेर मुद्धा चलाउनु भएको भए हामी सर्वसाधारणलाई क्या मज्जा आउँथ्यो ।

तपाईलाई सेलुट गर्दै हामी भन्थ्यौ वा मुलुकले क्या गृह मन्त्री पायो । गृहमन्त्रालयमा भ्रष्टहरुको रेर्कड र इन्टेलीजेन्सले बुझाएको फाइल नै नभएको त पक्कै होइन होला ।
गृहमन्त्री ज्यु बोलेपछि त गर्नै पर्छ है । तपाईले बोलेको ३÷४ दिन भैसक्यो हामी अझै ३÷४ दिन, ३÷४ हप्ता र उस्तै परे ३÷४ महिना कुर्न तयार छांै ।

तर ठुला भ्रष्टाचारी समातिएको न्युज प्रसारण गर्न र तपाईलाई सलाम ठोक्न तयार छौं । हुन त तपाई गृह मन्त्री बनेको २४ घण्टा नबित्दै केही ठाँउमा घुस लिदै गर्दा कर्मचारी समातिए ।

त्यही २÷४ जना साना कर्मचारी समातेर देशको घुसखोरी नियन्त्रण गर्न खोज्नु भएको भए भैगो तपाईबाट आशा नगराँै । त्यो त हामी नै गरीरहेका छांै ।
तर साँच्चै नै काम गरेर देखाउनका लागि नै भन्नुभएको हो भने केही नामुद घुसियाहरुको नामावलि हामीसँग पनि छ ।

ती घुसखोरीहरु यही मुलुकमा छन् । यहि देशमै तिनको हालीमुहाली छ । तपाईले भनेको विश्वास गर्न हामीलाई कुनै आपत्ती भएन तर ति देशका धमिराहरु जो खुलमखुल्ला हिडिरहेका छन्, तिनको हाली मुहाली अझै कायम हुने हो भने त तपाइको भनाई बेकारको हुन्छ ।

रिपिट गर्न चाहन्छु, तपाई माननिय श्री राम बहादुर थापा (बादल)ले देशको गृहमन्त्री भएपछि भन्नु भएको छ, घुसखोरी, नातावाद, कृपाबाद अब मुलुकमा चल्दैन ।
घुसखोरीहरुले देशका मन्त्रीहरु पनि किनेका छन् भन्ने गाइगुँई हामीले सुनेका छौ, तपाईले नसुन्ने त कुरै भएन । यदि आफ्नो कार्यकालमा एउटा पनि ठुलो घुसखोरीलाई समातेर जेल कोच्नु भएन भने हामीले के बुझ्ने ?

भ्रष्ट्राचारीहरुले चुसेर रंग उडेको यो मुलुकले रंगहरुको चाङ फागु, होली उल्लासका साथ मनाएको छ । २÷४ ठुला भ्रष्ट्राचारीलाई समातेको दिन फागु पुर्णिमा नै नआईकन होली मनाउन मन छ । ह्याप्पी होली गृह मन्त्री ज्यु ।

भिडियो हेर्नुहोस्