Saturday, September 26

नेपाल र पाकिस्तानबीच दोस्ती बढ्न थालेको भन्दै भारतिय संचार माध्यमले छापे यस्तो समचार…

काठमाडौं– सोमबारदेखि सुरु भएको पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासीको नेपाल भ्रमणको विषयलाई लिएर भारतीय सञ्चारमाध्यामहरुले नेपाल र पाकिस्तानबीच थप दोस्ती बढ्न थालेको भन्दै टिप्पणी गर्न थालेका छन् ।

दुई दिने नेपाल भ्रमणमा काठमाडौं ओर्लिएका प्रधानमन्त्री अब्बासीको भ्रमणलाई वाम गठबन्धनको सरकार बनेपछि भएको पहिलो बरिष्ठ विदेशी नेताको भ्रमण रहेको भन्दै टिप्पणी सुरु भएको हो । ‘पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासी आफ्नो देशसँग अर्को क्षेत्रीय राष्ट्र नेपालसँग सम्बन्ध प्रगाढ बनाउने प्रयासस्वरुप दुई दिने नेपाल भ्रमणमा निस्किएका छन् ।

उनले नेपाली प्रधानमन्त्री लगायत अन्य नेताहरुसँग वार्ता गर्नेछन्, उनी प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व सम्हालेलगत्तै नेपाल भ्रमण गर्ने पहिलो बरिष्ठ नेता समेत हुन्’ नवभारत टाइम्सले सोमबार लेखेको छ ।

पाकिस्तानी राजदूतावासको हवला दिँदै टाइम्सले लेखेको छ, ‘यो भ्रमणमा व्यापार,शिक्षा, पर्यटन, रक्षा लगायतका विषयमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन र विस्तार गर्न अवसर मिलेको छ ।’