Wednesday, September 19

गर्भावस्थामै छोराछोरी छुट्याउने डाक्टर जेल जान तयार हुनुहोस् : मन्त्री पण्डित

काठमाडौं, वातावरण मन्त्री लालबाबु पण्डितले गर्भावस्थामै लिंग पहिचान गर्ने चिकित्सकलाई जेल हाल्ने चेतावनी दिएका छन् । पेशागत मान्यता विपरित लिंग पहिचान गरी भ्रुण हत्या गर्ने चिकित्सकलाई कुनै पनि हालतमा जेल पठाउने उनले बताएका छन् । विश्व मिर्गौला दिवसको अवसरमा ललितपुरमा आयोजितका कार्यक्रममा मन्त्री पण्डितले गर्भभै छोराछोरी छुट्याउने गैरकानुनी काम चिकित्सकले गर्न नहुने बताएका छन् ।

मन्त्री पण्डितले भने ‘तपाईंहरूले गर्भमा छोरा र छोरी छुट्याउने काम छोड्नुस्, यदि यसो गर्ने हो भने जुनसुकै बेला जेल जान तयार रहनुहोस् ।’ मिर्गौला फेल हुँदैमा नेपाली जनता निराश हुनुपर्ने अवस्था नरहेको पनि सो अवसरमा उनले बताए ।

मिर्गौला रोगको उपचार र प्रत्यारोपण नेपालमै सम्भव भएको भन्दै उनले यसको लागि विदेश धाउनु नपर्ने जनाए । उनले भने ‘नेपालमा केही हुँदैन भनेर कहिल्यै नसोच्नुस्, विदेशमा रहेका नेपाली विज्ञ चिकित्सकलाई समेत स्वदेशमै काम गर्ने वातावरण मिलाउँदैछौं ।’ विदेशमा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गर्दै उनले भने ‘विदेशमा होइन, स्वदेशमै बसेर बिरामीको सेवा गरी पुण्य कमाउनुस् ।

’ हाल गुणस्तरीय स्वास्थ्य सेवामा सीमित वर्गको मात्रै पहुँच भएको आरोप लगाउँदै अब निम्न आर्थिक स्तरका जनतालाई पनि लक्षित गरी सरकारले स्वास्थ्य कार्यक्रम ल्याउन लागेको मन्त्री पण्डितले जानकारी दिए । उनले भने ‘९५ प्रतिशत स्वास्थ्य सेवा हुनेखानेकै पहुँचमा छ, उनीहरू सुगर लेभल जाँच्न समेत सरकारी खर्च लिएर विदेश पुग्छन्, अबदेखि यो काम बन्द हुन्छ ।’ स्वास्थ्य क्षेत्रमा केही समस्या भए छलफलको लागि सँधै तयार रहेको उनले बताए ।

हाम्रो डाक्टरडटकमबाट

Similiar Post