Saturday, May 8

लकडाउनमा थप कडाइ अब २ घण्टाको लागिमात्र पसल खुल्ला, साइकल र ठेलागाडा सब बन्द (सुचना सहित)

2021-05-04 2211

काठमाडौं । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले आगामी बैशाख २९ गतेसम्मका लागि थप निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले २ घन्टासम्ममात्र पसल खोलन पाउने निर्णय गरेको छ ।

उपत्यकामा किराना, तरकारी तथा फलफूल लगायतका अत्यावश्यकीय पसल बिहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न पाइने भएको छ।

यसअघि साँझ ५ बजेदेखि ७ बजेसम्म पनि पसल खोल्न दिने गरिएको थियो भने बिहान ५ देखि १० बजेसम्मका लागि पसल खोल्न दिइएको थियो ।
यसअघि नागरिकलाई हिँडडुल गर्न त्यति कडाइ नगरिएको भए पनि अब अत्यावश्यकबाहेक घर बाहिर निस्कन रोक गरिएको छ।

बैंक तथा वित्तीय क्षेत्रका हकमा २५ प्रतिशत मात्र शाखा कार्यालयहरुलाई खुला गर्न दिइने र केन्द्रीय कार्यालयहरुले २० प्रतिशत कर्मचारी सञ्चालन गरी सेवा दिन सक्ने निर्णय गरिएको छ। अत्यावश्यक सवारीमा अनिर्वाय पासको व्यवस्था गरिएको र पास नभएका सवारीलाई गुड्न नदिने निर्णय भएको छ ।

यस्तै, सरकारी कार्यालयमा ४० प्रतिशत कर्मचारी राखेर मात्रै सञ्चालन गर्न भनिएको। सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको परिचय पत्र अनिवार्य गरिएको छ।
फुटपाथ, खुला ठाउँ, साइकल र ठेलागाडामा सञ्चालित व्यवसायसमेत बन्द गराउने निर्णय भएको छ ।

यसअघि काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञाको समय भोलि राति १२ बजेसम्मका लागि तोकिएको छ । त्यसको पूर्वसन्ध्यामा बैठक बसेर निषेधाज्ञाको समय लम्ब्याउने निर्णय गरिएको छ ।-न्यु२४नेपालबाट।

प्रतिकृया दिनुहोस्