Thursday, October 1

मेरो हत्या गर्ने षड्यन्त्र भइरहेको छ : गोपाल पराजुली (भिडियो सहित)

काठमाडौं । न्याय परिषद्ले पदमा नरहेको जानकारी गराएको भोलिपल्ट गोपालप्रसाद पराजुलीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु भएको छ । बुधबार पराजुली नै अध्यक्ष रहेको न्याय परिषदले उमेर हदका कारण प्रधानन्यायाधीशको पदावधि गत साउन २१ मै सकिएको भन्दै पराजुलीलाई पत्राचार गरेको थियो ।

त्यसलगत्तै न्याय परिषद्को पत्रलाई गैर–कानूनी जिकीर गर्नुभएका पराजुलीले निरन्तर काममा रहने बताउनु भएको थियो । तर, उहाँले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा–पत्र बुझाउनु भएको हो । राजीनामा बुझाउनु अघि पराजुलीले राष्ट्रपतिसँग छलफल गर्नु भएको थियो । यसैबीच, न्यूज २४ टेलिभिजनसँग विशेष कुराकानी गर्दै पराजुलीले आफूविरुद्ध दृश्य÷अदृश्य ठूलो शक्तिले षड्यन्त्र गरेको बताउनु भयो ।

थप विवाद गर्न नचाहेका कारण राजीनामा दिएको बताउनु भएका पराजुलीले आफू असुरक्षित रहेको दावी पनि गर्नुभयो । पूर्व न्यायाधीश रणबहादुर बमको हत्या घटना स्मरण गर्दै पराजुलीले आफूमाथि पनि सोही प्रकृतिको घटना हुनसक्ने आशंका गर्नुभयो । पदमा नरहेको भन्दै पत्राचार गर्ने न्याय परिषद्का सचिवलाई कारवाही गर्न आफूले निर्देशन दिएको अवगत गराउनु भएका पराजुलीले उनलाई कारवाही नभए घटना नियोजित रुपमा गराइएको पुष्टि हुने दावी पनि गर्नुभयो ।

हेर्नुहोस यो भिडियो