Friday, September 25

युएस बंगला विमान दुर्घटनाः पाइलटकी श्रीमती मृत्युसँग जुध्दै ……..

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला एयसलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट अबिद सुल्तानकी पत्नी अफ्सना खनाम मृत्युसँग जुधिरहेकी छिन् । दुर्घटनाको खबरले अफ्सनालाई ब्रेन स्ट्रोक भएको र उनलाई अहिले बंगलादेशको राजधानी ढाकाको शेर–ए–बंगला नागर नेशनल इन्ष्टिच्युट अफ न्यूरोसाइन्समा भर्ना गरिएको छ ।

उनलाई भर्ना गरेपछि एक सर्जरी गरिएको र उनी अहिले आइसियुमा भएको अस्पतालले जनाएको छ । अस्पतालका सहनिर्देशक डा.बदरुल आलमले अफ्सनाको उपचारको नेतृत्व गरिरहेको अस्पतालको सूचना शाखाका शिहाब उद्देनले जानकारी दिएका छन् । काठमाडौंमा भएको विमान दुर्घटनामा पाइलटसँगै २६ बंगलादेशीको मृत्यु भएको थियो । पहिलो दिन पाइलट क्याप्टेन अबिद सुल्तान अस्पताल भर्ना भएको बताइए पनि भोलिपल्ट उनको मृत्यु भएको बताइएको थियो ।

अविदका एक नजिकका साथीका अनुसार उनीहरुले अफ्सनालाई दुर्घटनाको खबर सुनाए पनि उनले विश्वासै गर्न सकिनन् । अविद जिउँदै भएको खबर बाहिरिएपछि अफ्ना केही सम्हालिएकी थिइन् तर पछि उनको पनि मृत्यु भएको खबर आएपछि उनी पूर्ण रुपमा बेहोस भइन् ।-सत्यसमाचारबाट