Wednesday, September 23

के क्रिकेटको राजा भारतसंग अब नेपाल भिड्न पाउछ ?

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय (वान–डे) खेल्ने मान्यताप्राप्त राष्ट्र बनेको छ। जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट क्रममा बिहीबार प्राप्त यो मान्यता कम्तिमा चार वर्ष रहनेछ। यसले स्थानीय क्रिकेटप्रेमीमा खुसीको लहर ल्याउनुका साथै अन्तर्राष्ट्रिय रूपमा पनि नेपाली टिमको प्रशंसा भइरहेको छ।

श्रीलंका, बंगलादेश, पाकिस्तान लगायत देशका खेलाडीले सामाजिक सञ्जालमार्फत् नेपाली टोलीलाई ‘वान–डे’ खेल्ने समूहमा स्वागत गरेका छन्।

नेपाली टिमले हासिल गरेको सफलतासँगै एउटा प्रश्नमा धेरैको चासो छ– के यो मान्यतापछि अब नेपालले भारत, पाकिस्तान, श्रीलंका, अस्ट्रेलियाजस्ता अन्तर्राष्ट्रिय क्रिकेटका ‘च्याम्पियन’ राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्न पाउँछ? सेतोपाटीले यसबारे नेपाली यु-१९ टिमका प्रशिक्षक विनोद दास र नेपाली टिमका पूर्वकप्तान पवन अग्रवाललाइ सोध्दा उनले यस्तो भने;

‘एकदिवसीय मान्यतासँगै नेपाल विश्व क्रिकेटका १६ शीर्ष राष्ट्रको सूचीमा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले एकदिवसीय खेल्ने मान्यता दिएका यी १६ राष्ट्रबीच आपसी समझदारीमा खेल हुन सक्छ । यसमध्ये १२ पूर्ण सदस्य छन् भने नेपालसहित चारवटा अस्थायी हुन्।

यसमा भारत, पाकिस्तान, अस्ट्रेलिया, बंगलादेश, श्रीलंका, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, अफगानिस्तान, आयरल्यान्ड, स्कटल्यान्ड लगायत मुलुक पर्छन्।

यी राष्ट्रबीच हुने त्रिकोणात्मक वा अन्तर्राष्ट्रिय सिरिजमा नेपालले सहभागिता जनाउनसक्ने दासले बताए। आपसी समझदारी भने हुनुपर्छ।

‘हामीले राखेको प्रस्ताव यी मुलुक र त्यहाँको क्रिकेट बोर्डले स्वीकार गरे हामी यी १६ मध्ये जुनसुकै देशसँग एकदिवसीय खेल्न सक्छौं,’ दासले सेतोपाटीसँग भने, ‘सम्बन्धित देशको क्रिकेट बोर्डले सम्झौता गर्नुपर्नेछ भने आइसिसीले मान्यता दिनुपर्नेछ।’

यसको मतलब, अब नेपालले भारत, अस्ट्रेलिया, पाकिस्तानजस्ता देशका राष्ट्रिय टिमसँग खेल्ने बाटो खुलेको छ।

यति मात्र होइन, आइसिसीसँग सहकार्य गरेर नेपाल आफैंले एकदिवसीय शृंखला आयोजना गर्नसक्छ। नेपालमा क्रिकेटको आधिकारिक निकाय नहुँदा तत्काललाई केही कठिन हुनेछ। सरकार आफैंले पहल गर्नुपर्छ।

सरकारले कुनै पनि देशको क्रिकेट बोर्डलाई सोझै वा कूटनीतिक माध्यमबाट एकदिवसीय प्रतियोगिता खेल्न आग्रह गर्न सक्छ। उदाहरणका लागि, भारतसँग एकदिवसीय खेल्ने हो भने भारत सरकार वा बिसिसिआईलाई सोझै प्रस्ताव राख्न सक्छ।

पछिल्लो समय नेपालसँगको कूटनीतिक सम्बन्ध सुधार्न भारतले नेपालको आग्रह स्वीकार गर्नसक्ने सम्भावना छ। ‘आगामी भारत भ्रमण क्रममा प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल–भारत क्रिकेट शृंखला आयोजना गर्न प्रस्ताव राखेर यसको थालनी गर्न सकिन्छ,’ नेपाली टिमका पूर्वकप्तान अग्रवालले भने।

साभार:-डोननेपालबाट