Tuesday, September 29

आर्थिक सहयोग जुट्न थाल्यो बोक्सी आरोपमा कुटिएकी राधा चौधरीलाई !

काठमाडौं,११ चैत। बोक्सी आरोपमा निर्घात कुटिएकी कैलाली घोडाघोडी नगरपालिका–५ देउकलियाकी २० वर्षीया राधा चौधरीलाई बेलायतबाट आर्थिक सहयोग उपलब्ध भएको छ ।

मिडवेय सिस्टर बेलायतले रकम संकलन गरि रामप्रसाद राई फाउन्डेसन अध्यक्ष सुष्मा राई मार्फत सो सहयोग उपलब्ध गराइएको हो ।

पीडित चौधरीलाई कैलाली जिल्ला अन्तर्गत प्रदेश नम्बर ७ का प्रदेशसभा सदस्य चुनकुमारी चौधरीद्वारा रकम हस्तान्तरण गरिएको छ ।

मडवेय सिस्टर बेलायतले रामप्रसाद राई फाउन्डेसन अध्यक्ष सुष्मा राईमार्फत पठाएको ३६ हजार रुपैयाँ सहयोग सांसद चौधरीले हस्तान्तरण गरेका हुन् ।

सो रकम चौधरीको शिक्षा, स्वास्थ्यमा सहयोगको उद्देश्यले सहयोग उपलब्ध गराइएको रामप्रसाद राई फाउन्डेसन अध्यक्ष सुष्मा राईले बताइन् । ‘अब राधा चौधरी मात्रै नभएर अब विश्वकै अभियान्ताको रुप्मा राधा चौधरीले काम गर्नुपर्छ, विश्वबाटै महिला हिंसा अन्त्यको अभियानमा लाग्नु पर्छ’, अध्यक्ष राईले भनिन् ।

सासंद चौधरीले अभियानमार्फत सबैखाले हिंसा न्यूनीकरणको लागि वकालत गर्ने, पीडितको परिपुरणको लागि पहल गर्ने तथा सरकारलाई दबाब दिने बताइन् ।

फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका दिन गाउँकै तान्त्रिक भोले बाबा उर्फ रामबहादुर चौधरी र उनका सहयोगीद्वय स्मारिका चौधरी, किस्मती चौधरीलगायत बोक्सी आरोपमा राधालाई निर्घात कुटपिट गरेका थिए । कुटपिटमा संलग्नविरुद्ध बोक्सी आरोप कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दायर गरिएको छ ।-नेपालीपत्रबाट