Monday, September 28

बैदेशीक रोजगारले लूट्यो सब, जब तीन तन्नेरी दाजुभाई बाकसमा फर्किए, परिवारमा असहनीय पिडा ! (भिडियो सहित)

सामान्यतयाः दुःख वा पीडामा मानिसले दैब (भगवान)लाई पुकार्ने गर्छन् । विपत्तिका बेला रक्षा गर्न भगवानसंग प्राथना गर्छन ।

तर, पीडा असह्य भएपछि र एकपछि अर्को गर्दै विपत्तिको चाङ लाग्न थालेपछि भगवानप्रति पनि मानिसको विश्वास उठ्दो रहेछ र भगवानलाई नै आफ्नो विपत्तिको मुकदर्शक मान्दो रहेछ । यस्तै दृश्य देखियो विहीवार म्याग्दीको मालिका गाउँपालिकावडा नं २ रुमको बेली गाउँमा ।

“दुःखीको घरमा मात्र तेरो वास हुने भए, हे ईश्वर ! दया राखी मलाई अझ दुःख दे” साहित्यकार बालकृष्ण समको माथिको पंक्तिले बोल्ने भाव विहीवार मलेशियाबाट आफ्नो कान्छो छोरा धर्मलाल रोकाको शव बाकसमा बोकिएर घरको आगनमा झारेपछि स्व. रोकाका आमा लिलमति रोका र बुबा धनवहादुर रोकाले व्यक्त गरे । प्यारालाइसेसबाट ग्रस्त ७२ वर्षिय बुबा धनवहादुर र पेटको रोगी ६८ वर्षिया आमा लीलमतिले छोराको शब आएको बाकसमा मुड्की बजार्दै भगवानले पनि पक्षपात गरेकोमा मुर्छित नहोउन्जेलसम्म विलौना गरे ।

चैत ११ गते सबैको घरमा झैं चैतेदशैंको रमझम रोकाको घरमा पनि थियो । धनवहादुर रोकाका साहिला छोरा थमवहादुर पनि केही दिन पहिले मात्र मलेशियाबाट घरमा आएका थिए । घरमा एक किसिमको रमाइलो नै थियो । यत्तिकैमा थमवहादुरको मोवाइल बज्यो । मलेशियाबाट आफ्ना ज्वाइँले फोन गरेका रहेछन् । ‘एकदम नराम्रो खवर छ जेठान, पुष्टि भै सकेको छैन ।’ भन्ने आफ्ना ज्वाइँको वाक्यले थमवहादुरको खुसी चट् गरिदियो । त्यसपछि लगातार उनको मोवाइल वज्न थाल्यो । केही क्षणपछि भाइ धर्मलालको ड्यूटी पछि सुतेको अवस्थामा नै मृत्यु भएको र शवलाई काठमाण्डौ पठाउने तयारी भएको भन्ने खबर आएपछि थमवहादुर भाइको शव लिनका लागि काठमाण्डौं हिडें ।

आज विहीवार थमवहादुरका कान्छा भाइको शव काठमाण्डौंबाट गाडी (जीप) को छतमा राखेर गाउँमा पु¥याए पछि पुरै गाउँमा कोलाहल भयो। रुवावासी चल्यो । सवैको दुख हरण गर्ने भनिएका भगवानलाई समेत अन्यायी र पक्षपाती भन्दै भगवान पनि निश्ठुरीको संज्ञा दिइयो ।धनवहादुर र लीलमति रोकाका ४ भाइ छोरा मध्ये जेठा तमवहादुर रोका,माइला भक्तवहादुर रोका र कान्छा धर्मलाल रोकाको मृत्यु विदेशमा नै भयो ।

सवैभन्दा पहिला वैदेशिक रोजगारीका लागि माहिला भक्तवहादुर रोका कतार गए । त्यतिवेला उनी २१ वर्षका थिए । कतार गएको दुई वर्ष पनि नपुग्दै उनको मृत्युको खबर आयो । उनको शव कार्गोमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा झारियो । त्यतिवेला शब बुझ्न बुबा धनवहादुर काठमाण्डौमा नै गए । उनको काजक्रिया पनि काठमाण्डौंमा नै गरियो ।घरको आर्थिक अवस्था कमजोर भएकाले माहिलो भाइको मृत्युको लगत्तै जेठा तमवहादुर रोका पनि कमाउनका लागि मलेशियामा गए।

मलेशियामा एउटा मोटर कारखानामा काम गर्दा गर्दै सात महिला पनि वितेको थिएन उनको पनि मृत्युको खबर आयो । आज भन्दा दश वर्ष अघि ३० वर्षको उमेरमा जेठाछोराको लाश पनि कम्पनिले घरमा नै पठाइदिएको थियो । कम्पनिले आश त पठायो तर आजसम्म पनि कुनै राहत र सहयोग नपाएको साहिला छोरा थमवहादर रोकाले बताए ।

र, आज विहीवार कान्छा भाइको शवलाई बाकसमा हालेर ल्याएका मृतक रोकाका साहिला दाइ थमवहादुरको अवस्था अत्यन्तै कारुणीक र दयनीय छ । बृद्ध र रोगी बुबाआमाको चित्कारले आफ्नो मुटु छियाछिया भएको बताउँदै रोकाले ‘यस्तो अवस्था कसैले पनि भोग्न नपरोस’ भने । बेली र जेम तथा आसपासका बस्तीका स्थानीयले गाउँमा सक्रिय यूवालाई गुमाउनुपरेको बताएका थिए । मृतकलाई सान्त्वना दिन मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बैदेशिक रोजगारमा पुगेका यूवाहरुको शव गाउँमा आउँदा दुख लागेको बताए ।

’गाउँपालिका भित्र नै रोजगारको वातावरण बनाउनुपर्छ । यूवालाई गाउँमै सीप हस्तान्तरण गरी लगानीको वातावरण बनाउन पहल गरिरहेका छौ’ रोकाले भने । उनले आर्थिक अवस्था कमजोर भएका यूवाहरुको विदेशमै मृत्यु हुदाँ परिवारको दैनिकी कष्टकर हुने भएकाले राहत सहयोगका लागि समेत अनुरोध गरेका थिए ।

यसैबीच मृतकको क्रियाखर्चका लागि विष्णुकुमारी पुनले १० हजार, ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले ५ हजार, मोना नेदरल्याण्डका महासचिव मिम पुर्जा ५ हजार, प्रगतिशिल यूवा क्लव ५ हजार, बेली आमा समुह ५ हजार,लोकेश पुन मगर ३ हजार, कुमारी सहकारी २ हजार सहयोग गरिएको थियो । थप आर्थिक सहयोगका लागि समेत अभियान सञ्चालन गरिने भएको छ ।
भिडियो हेर्नूहोस
स्रोत:-अमेरीकानेपालडटइन्फो