Sunday, September 20

पहिलो पटक मिडियामा मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा, रवी लामिछानेले गरेका थिए कार्यक्रम संचालन (भिडियो) यसरी लेखक बने महको म

डब्बु क्षत्री/काठमाडौं– पत्नी यशोदा श्रेष्ठ क्यान्सरले ग्रस्त थिइन् । आफूलाई पार्किन्सनले यति ग्रस्त बनाएको थियो कि लेख्नको लागि हातले कलम चलिरहेको थिएन । पार्किन्सन मात्र होइन, मुटुको समस्या छँदै थियो । मुटुको समस्याले सताइरहेको थियो । यस्तो अवस्थामा उनलाई लागिरहेको थियो, ‘अब मैले मेरो जीवन कथा लेख्न नसक्ने भएँ । सायद मेरो जीवनकथा पाठकले पढ्न पो नपाउने हुन् कि ?’

उनको मुटुलाई एउटा निश्चित धड्कन कायम गर्न पेसमेकर (बेट्री) राखियो । सुस्ताउँदै गएको मस्तिष्कलाई ऊर्जा दिँदै शरीर चलायनमा बनाउन मस्तिष्कमा चिप्स राखियो । यता पटकपटकको अप्रेसन र निरन्तरको केमो परिचालनले पत्नीको स्वास्थ्यमा पनि केही सुधार आयो । विश्राम पाएको जीवन लेखनले फेरि गति लियो । लेख्दालेख्दै शब्द पनि १ लाख २० हजार नाघ्यो । अनि तयार भयो ‘महको म’ ।

मंगलबार राजधानीमा एक समारोहबीच सार्वजनिक भएको चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा पुस्तक ‘महको म’को रचनागर्भ कथा हो यो । विमोचन समारोहमा मदन कृष्ण श्रेष्ठले पुस्तक लेखनको कथा सुनाउँदै भने, ‘हातले कलम त समाउँथ्यो तर हात चल्न छाडेको थियो । देब्रे हातले दाहिने हातलाई धकेल्दै धकेल्दै सकी नसकी कलम चलाउँदै गएँ र ६ वर्षको यो संघर्षपछि बल्ल आज तपाईंहरूको हातमा यो पुस्तक आयो ।’

मंगलबार मदनकृष्ण श्रेष्ठ र यशोदा श्रेष्ठको दाम्पत्य जीवनको ४४औं वार्षिकोत्सव थियो । उनको जीवनमा नयाँ सन्तानको रूपमा पुस्तक ‘महको म’ आएको थियो । विमोचन समारोहमा मदनकृष्ण श्रेष्ठले तीनवटा गीत प्रस्तुत गर्दा थप गीत गाउन दर्शकदीर्घाबाट अनुरोध आइरहेको थियो । यी कलाकारले भने, ‘आज मेरो त पुस्तक विमोचन पो हो त । फेरि धेरै गीत गायो भने एल्बम विमोचन भन्लान् नि, त्यसैले अब पुस्तक रचनाको कुरा भन्छु नि ।’

उनले अगाडि थपे, ‘म र भाइ हरिवंशको कथा लेखिएको पुस्तक हरिवंशले चिना हराएको मान्छे ल्याइसकेका छन् र धेरै लोकप्रिय पनि भइरहेको छ । तर चिना हराएको मान्छे र यो फरक किताब हो ।’ त्यो पुस्तकमा समेटिएको प्रसंग यसमा पाँच प्रतिशत मात्र मिल्ने बताउँदै उनले बाँकी सबै फरक प्रसंग यसमा रहेको प्रस्ट पारे ।

यो पुस्तकको नाम जुराइन कलाकार मनदकृष्ण श्रेष्ठलाई त्यत्तिकै हम्मे परेको रहेछ, ‘दुई सयवटा नाम लेखें हुँला, अन्त्यमा बल्ल धेरैले महको मलाई मन पराउनु भएपछि यो नाम राखिएको हो ।’ पुस्तकका लागि तयार गरेको नामको उनले विमोचन समारोहमा फेहरिस्त नै सुनाए । विमोचन समारोहमा मदनकृष्णका छोरा यमन श्रेष्ठ र छोरी सराना श्रेष्ठले मदनकृष्णकै गीत सुनाएर कार्यक्रमलाई सांगीतिक मोड दिए ।

यो पुस्तकलाई महका हरिवंश आचार्यले कार्यक्रममा विमोचन गरेका हुन् । संसारले पढ्न मिल्ने एउटा व्यक्ति अर्थात् आफ्नो जीवन दाइको जीवनी समेटिएर पुस्तक आउँदा आफूलाई सबै भन्दा बढी खुसी लागेको कलाकार हरिवंशले बताए । सबै प्राणीको आत्मकथा हुने बताउँदै भने, ‘धेरै पहिकले मैले एउटा सुरिलो रुखको आत्मकथा पढेको थिएँ । त्यो पढे पछि सबै चीजको आत्मकथा हुन्छ भन्ने लाग्न थालेको हो मलाई ।’ उनले थपे, ‘मदन दाइको जस्तो ओजपूर्ण जीवन भएको मानिसको आत्मकथा त नहुने हुनै भएन । म मेरो जीवन दाइको आत्मकथा संसारले पढ्ने खालको छ भन्नेमा म ढुक्क छु ।’ धेरै बेथा खपेका मदनकृष्ण श्रेष्ठले मनको बेथा सुनाउन नसकेपछि आत्मकथा लेखेको हरिवंशले बताए ।

चिकित्सा साहित्यकार रवीन्द्र समीरले कलाकार मदनकृष्ण श्रेष्ठको यो आत्मकथाको पाण्डुलिपि देखाउँदै यो पुस्तकमा आफूलाई साह्रै सानो व्यक्तिको रूपमा मदनकृष्ण श्रेष्ठले प्रस्तुत गरेको बताए । आत्मप्रसंशाबाट पूर्णतया बचेको यो पुस्तक नेपाली साहित्यको अमूल्य प्राप्ति भएको जिकिर गर्दै उनले भने, ‘चार दशकभन्दा लामो समयसम्म हरिवंश आचार्यको भाषामा सियो र धागो भएर मह जोडी बनेका लेखकको यो पुस्तकमा चिना हराएको मान्छेको प्रसंग नदोहोरिनु अर्को विशेषता हो ।’

पुस्तकमा कलाकार मदनकृष्ण श्रेष्ठले जन्मदेखि अहिलेसम्मको आफ्नो जीवनको आरोह अवरोहका महŒवपूर्ण घटना समेटेका छन् । पुस्तक रोचक छ । मदन कृष्णलाई नजिकबाट चिन्न यो पुस्तकले सघाउनेछ । जसमा उनको बाल्यकाल, प्रारम्भिक संघर्ष, जागिरे जीवन, प्रेम र अन्तरजातीय विवाह, कला यात्राका सफलतादेखि श्रीमतीलाई क्यान्सरले ग्रस्त तथा आफूलाई पार्किन्सनले पिरोल्दासम्मका कथा समेटेका छन् । पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो ।

यो समाचार करिब ६ महिना अघिको हो अहिले पुनः यो सान्धर्भिक लागेर हामीले राजधानी दैनिकबाट साभार गरेका हौ

स्रोत:-ताजाखबरबाट