Sunday, October 25

भारत पुगेर प्रधानमन्त्री ओलीले के भने ? हेर्नुहोस (भारतीय मिडियामा आयको भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न भारतका उद्योगी, व्यवसायी तथा लगानीकर्तालाई आग्रह गरेका छन् ।

नयाँ दिल्लीस्थित होटल ताज प्यालेस होटलमा आयोजित कार्यक्रममा भारतीय उद्योगी, व्यापारी तथा लगानीकर्तालाई सम्बोधन गर्दै बोल्दै उनले नेपालमा लगानीका सम्बन्धमा कुनै आशंका नपाल्न आग्रह गरे ।

उनले खुलाबजार अर्थतन्त्र र यसको विश्वब्यापी मान्यताप्रति नेपाल सरकार पूर्ण प्रतिवद्ध रहेको पनि भारतीय लगानीकर्तासामू बताए । ‘खुला बजार अर्थतन्त्र र यसका विश्वव्यापी मान्यता एवं नीतिप्रति प्रतिवद्ध छौं,’ प्रधानमन्त्री ओलीले भने ।

नेपालमा लगानीका लागि आवश्यक संरचना र नीतिगत व्यवस्थाको सुनिश्चितता रहेको दावी प्रधानमन्त्री ओलीले गरे । ‘अन्य मुलुकको तुलनामा हामीसँग आकर्षक सहुलियत छन्,’ उनले भने, ‘कर प्रणालीलाई सरल र यसका दर न्यून छन्, प्रशासनिक प्रक्रिया पनि झन्झटमुक्त छ, खुला बजार व्यवस्था अनुसार श्रम समस्याको पनि उपयुक्त कानूनी व्यवस्था गरिएको छ ।’

प्रधानमन्त्रीकै अध्यक्षतामा गठन भएको अधिकारसम्पन्न लगानी बोर्डमार्फत एकद्वार प्रणालीबाट ठूला लगानीकर्तालाई सहजीकरण गरिएको उनले बताए ।

फाइल तस्बिर

उनले करको दर न्यून रहेको, केही औद्योगिक क्षेत्रमा कर छुट र ‘ट्याक्स होलिडे’ को व्यवस्था रहेको, निर्यातजन्य उद्योगका लागि निश्चित वस्तु आयातमा भन्सार र शूल्क मिनाहा, कमाएको नाफा रकम विदेश लैजान सहज कानूनी व्यवस्था रहेको लगायतको लगानी प्रवर्द्धनका लागि नेपालले कानूनी व्यवस्था गरेको चर्चा गरे ।

‘हामी नेपालको व्यापार अवस्था सुधार गर्न चाहन्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि तपाईहरूको सहयोग र सल्लाह/सुझाव सुन्न हामी तयार छौं ।’

आन्तरिक (स्वदेशी) र बाहृय (विदेशी) लगानीकर्ताबीच कुनै भेदभावको नीति सरकारले नलिएको उनले प्रष्ट पारे । निजी उद्योगलाई राष्ट्रियकरण नगर्ने सुनिश्चितता पनि उनले दिलाए ।

नेपालको सस्तो श्रमशक्ति लगानीकर्ताका लागि अर्को फाइदाजनक कुरा भएको दावी उनको छ ।

पाँचवटा सीमावर्ती विन्दुमा भइरहेको रेल्वे सञ्जाल विस्तार, मुलुकभरका औद्योगिक केन्द्रहरूमा विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा ल्याउने तयारी गरिरहेको, चाँडै नै सञ्चालनमा ल्याउन लागिएको वीरगञ्जसँगै मुलुकका अन्य तीन स्थानमा पनि आधुनीक एकीकृत जाँचपास चौकी (आइसीपी) सञ्चालनमा ल्याउन लागिएको उनले बताए ।

विकासका लागि पूर्वाधार अत्यावश्यक भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सञ्जाल विस्तारका लागि ‘क्रसबोर्डर’ पूर्वाधार सरकारको प्राथमिकतामा रहेको बताए ।

कृषि, उद्योग, खानी, कृषि, सूचना प्रविधि, पर्यटन लगायतका क्षेत्र वैदेशिक लगानीका लागि खुला रहेको उलने प्रष्ट पारे ।

भारतसँग भएको विद्युत खरिद सम्झौता भइसकेको र जलविद्युतलाई उपयोग गरेर यसबाट दुवै देशले फाइदा लिनसक्ने अवस्था रहेको उनको भनाइ थियो । नयाँ ट्रान्समिसन लाइन स्थापना गर्ने तयारी भइरहेको जानकारी पनि उनले भारतीय व्यावसायीहरूलाई गराए ।

नेपाल पर्यटनका लागि स्वर्ग भएको दावी गर्दै उनले भारतीय पर्यटकका लागि त यो आदर्श पर्यटन गन्तब्य नै भएको उल्लेख गरे । पोखरा र लुम्बिनीमा क्षेत्रीय विमानस्थल बन्न लागिरहेको र यस्ता पर्यटन पूर्वाधार स्थापना सरकारको प्राथमिकतामा रहेको उनको भनाइ थियो ।

कृषि र जडीबुटी प्रशोधनका क्षेत्र उच्च नाफामूलक रहेको उनले बताए । क्लिन इनर्जी, क्लिन अर्बन इनर्जी लगायतका क्षेत्रमा पनि लगानीलाई सरकारले स्वागत गर्ने उनले बताए ।

‘हामी तपाईंहरूको व्यापार समुदायसँग मिलेर अघि बढ्न चाहन्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘म तपाईहरूलाई नेपाल आउन र लगानी गर्न आग्रह गर्न चाहन्छु, सरकारले लगानीको सुरक्षाको वातावरण मिलाउनेछ ।’ नेपाल सरकार अहिले विकासमा केन्दि्रत रहेको उनको दावी थियो । यो समाचार अनलाईनखबरले लेखेको छ ।

भारतीय मिडियामा आयको यो भिडियो हेर्नुहोस