Tuesday, October 27

केहि कमाउछु भनेर बिदेशिएकि सुस्मिता यसरि दुर्घटनामा परेपछि: तातोपानीले पोलेर युएईमा थलिएकी सुस्मिताको पीडा (पुरा विवरण सहित हेर्नुहोस)

युएई – ‘खाना पकाउने काम सधैं गरेको त हो नि,’ दिनहुँ गर्ने काममा कहिलेकाहीँ सर्तकता नअपनाउँदा नसोचेको घट्ना घटिदिन्छ । रोजगारीका लागि युएई आएकी मोरङकी सुस्मिता राईले पनि यस्तै समस्या झेल्नु पर्‍यो ।

गएको हप्ता उहाँ कामबाट फर्किंदा रात परिसकेको थियो । जतिबेला कोठामा फर्किए पनि बेलुका र भोली बिहानको खाना एकै पटक बनाउनु दैनिकी हो सुस्मिताको । त्यो दिन पनि उहाँ खाना बनाउदै हुनुहुन्थ्यो । तर उहाँले बनाएको खाना खान पाउनु भएन ।

‘चुल्होमा खाना बनाउने पालो कुरेर पकाउँदै थिए । अण्डा उमाल्दै थिए, पाक्यो होला जस्तो लाग्यो । कराई तताउँदै थिए बिँड फुस्किएर पानी त शरीर भरी पर्‍यो त्यसपछि के भयो के,’ उम्लिएको पानी शरीरमा परेपछि सुस्मिता मुर्छा पर्नुभयो ।

कम्पनीले आठ जनाका लागि एउटा मात्रै कोठा दिएकाले खाना पकाउन पालो कुर्नुपथ्र्यो । बिहान पाँच नबज्दै काममा जानुपर्ने भएकाले सुस्मितासहित सबैले बेलुका नै बनाउथे । साथीसँगको बसाइले समस्यामा पर्दा सुस्मितालाई सहज भयो । ‘साथीहरु नभएको भए यति बेला यो घाऊ कुहिएर म मरिसक्थे,’ सुस्मिताका गहभरी आँशु भए ।

सुस्मितालाई कम्पनीले अस्पताल पुर्‍याएन । साथीकै सहयोगमा अस्पताल पुग्नुभयो । तर हेल्र्थकार्ड नभएकाले उहाँलाई उपचारमा समस्या भयो । कमाएर परिवारलाई सहयोग गर्छु भन्ने सपना बोकेर युएई आउनुभएकी सुस्मिता आफैं पानीमा पोलिन पर्‍यो । कम्मरदेखि मुन्तिर सबैभाग पोलेको छ । कम्मरदेखि मुनी जलेकाले सुस्मिता हिँडडुल गर्न सक्नुहुन्न ।

बुढीआमा र विदेशबाट विरामी परेर फर्केका दाइलाई सहयोग गरौंला भन्ठानेर परदेशिएकी सुस्मिता यतिबेला अलमलमा पर्नुभएको छ । सुस्मिता खर्भरै १८ वर्ष पुग्नुभएको थियो ।

उहाँका दाइ भाउजु त थिए तर दाइ पनि मलेसिया र कतारबाट बिरामी परेर फर्किएपछि कमाएर परिवारलाई सहयोग गर्नुपर्ने जिम्मेवारी उहाँको काँधमा आयो ।घरकी सग्ली र एक्ली छोरी हुन सुस्मिता । परिवारको आर्थिक अवस्था कमजोर भएकाले २२ वर्ष पुगेको नागरिकता र पास्पोर्ट बनाएर १ वर्ष अघि युएई आउनुभयो ।

मोरङको लेटाड ५ खेरुवाकी सुस्मिता सामाखुसीमा रहेको सनलाइट म्यानपावर मार्फत ९५ हजार तिरेर युएई आउनुभएको हो । ‘१५ दिनमा भिसा लाग्छ एक लाख ५ हजार तयार पार्नुु,’ विदेश जाने भनेर म्यानपावरमा पुग्दा यसै भनेको थियो ।

ऋण धन गरेर सुस्मिताकी आमाले ९५ हजार जुटाइ दिनुभयो । १ लाख ५ हजार जुटाए १५ दिनमै युएई उडाउँछु भनेको म्यानपावरले उहाँलाई तीन महिना पछि मात्रै पठायो ।

उहाँलाई म्यानपावरले एरपोर्टको काम भनेर पठाएको हो । काम गर्ने समय र तलव पनि म्यानपावरले राम्रै हुन्छ भनेको थियो । सुस्मिता मात्रै हैन उहाँजस्ता धेरै जना महिला त्यही म्यानपावरबाट युएईको सारजाहको अल फला क्लिनिङ कम्पनीमा आएका छन् ।

काम सारजहाको एयरपोर्टमा भएपनि काम गर्ने समय र तलब भने फरक प¥यो । ‘काम १२ देखि १८ घण्टासम्म गर्नपर्ने तर सेवा सुविधा केही पनि छैन । न हेल्थ कार्ड छ न इन्स्युरेन्स । साह्रै दुःख छ,’ सुस्मिता सुनाउनुहुन्छ ।

कम्पनीले सुस्मिता समस्यामा परेपछि पनि वास्ता नगरेको जानकारी प्रवासी मन्च अन्तरगतको श्रमिक हेर्ने ट्रेड युनियन जिफन्ट युएईका अध्यक्ष रामेश्वर भेटुवाल र प्रवासी मन्च युएईका बाबुराम सापकोटा सारजाहमै कार्यरत सामाजिक अभियान्ता खेमराज बजगाईं कम्पनीकै क्याम्पमा पुग्नुभयो ।

बिरामीलाई अस्पतालसम्म लैजाने र सहयोग जुटाउने अभियानमा उहाँहरु लाग्नुभयो । जिफन्टले आफ्नो तर्फबाट आर्थिक सहयोग पनि गर्यो । सहयोगका लागि अन्य संघसस्थाहरु सँग कुरा चलायो । एनआरएन युएईले फोन गरेर तत्काल ५ सय दिर्हाम सहयोग गर्ने बाचा गरेको छ ।

जिफन्ट प्रतिनिधि लगायत प्रवासी कामदार हेर्ने प्रतिनिधि कम्पनीको क्याम्पसम्म पुगेको देखेर कम्पनी झस्किएको र कम्पनीले अहिले सबै बिल भुक्तानी गर्न सुरु गरेको जिफन्ट युएईले जनाएको छ ।

हेल्थकार्ड र इन्स्युरेन्स गर्न पनि प्रक्रिया सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीले कामदारलाई परेको समस्या समाधान गर्ने भन्दै कम्पनीबारे गलत प्रचार नगरिदिन अनुरोध गरेको जिफन्ट युएईका अध्यक्ष भेटवालले बताउनुभयो ।

सुस्मिताले पनि कम्पनीले अहिले सहयोग गर्न थालेको बताउनुभयो । हेल्थकार्ड र इन्स्युरेन्स नहुँदा आफूलाई समस्या परेको भन्दै दूतावासले कम्पनीसँग समन्वय गरिदिन उहाँलेको अनुरोध छ ।
from Gorkhali Khabar