Saturday, October 31

रियल मड्रिडमा ‘धोका’ भएको रोनाल्डोको ठहर, म्यान्चेस्टर युनाइटेड फर्किने मनस्थितिमा (पुरा जानकारी हेर्नुहोस )

एजेन्सी, माघ २ पछिल्लो समय पुनः एकपटक रियल मड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने र आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेड फर्किने चर्चा बढेको छ । सोमबार स्पेनको पत्रिका ‘एएस’ले आफ्नो पहिलो पृष्ठमै रोनाल्डोले रियल छाड्ने लागेको खबरलाई महत्त्वसाथ प्रकाशित गरेको छ । उक्त समाचारमा रोनाल्डोले रियलमा आफूलाई धोका भएको भन्दै युनाइटेड फर्किने चाहना आफ्ना नजिकका साथीभाइसँग व्यक्त गरेको दाबी गरिएको छ ।

सन् २००३ देखि २००९ सम्म युनाइटेडको जर्सीमा खेलेका रोनाल्डोले अहिले पनि आफ्नो पूर्वक्लबप्रतिको माया र सम्मान दर्शाउँदै आएका छन् ।

खबरअनुसार गत सिजनको च्याम्पियन्स लिगको फाइनल भिडन्तमा युभेन्टसलाई ४–१ ले हराउनेक्रममा रोनाल्डोले २ गोल गरेका थिए । त्यसबेला रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले रोनाल्डोको पारिश्रमिक बढाउने प्रतिबद्धता रोनाल्डोसामु गरेका थिए ।

तर, अहिलेसम्म त्यसो नभएको भन्दै रोनाल्डोले आफूलाई धोका भएको ठहरसाथ क्लब छाड्ने मनस्थितिमा पुगेको बताइएको छ । क्लबका अध्यक्ष पेरेजसँग यस विषयमा अहिलेसम्म कुनै कुरा नभएकाले पनि रोनाल्डोले रियल छाड्नेतर्फ अघि बढेको बताइन्छ ।

यस सिजन खराब अवस्थाबाट गुज्रिरहेका रोनाल्डोले हालसम्म ४ सय १८ खेलबाट कूल ४ सय २२ गोल गरेका छन् । उनले युनाइटेडमा २ सय ९२ खेलबाट १ सय १८ गोल गरेका थिए ।

त्यस्तै, ३२ वर्षीय रोनाल्डोले रियलमा छँदा दुईपटक ला लिगा, तीनपटक च्याम्पियन्स लिग उपाधि र दुईपटक स्पेनिस कपको उपाधि जितेका छन् ।

त्यस्तै, रोनाल्डोले आफ्ना खास प्रतिस्पर्धी बार्सिलोनाका लिओनल मेस्सीसँग बराबरी गर्दै पाँचपटक बालोन डि‘ओर र पाँचपटक नै फिफा वर्ष खेलाडीको अवार्डसमेत जितेका छन् ।

अहिले स्टार रोनाल्डोले अहिले रियलबाट प्रतिसाता ३ लाख ६५ हजार पाउन्ड पारिश्रमिक पाउछन्, जुन मेस्सी र नेइमारले पाउनेभन्दा करिब आधाले नै कमी हो ।

पछिल्ला दिनमा रोनाल्डोले रियल छाड्ने विषयमा अनेकौं रिपोर्ट स्पेनिस मिडियामा आइरहेका छन् ।