Tuesday, September 29

नक्कली नागरिकता दिलाएको आरोपमा रामेछापमा वडा अध्यक्ष र वडा सचिव परे पक्राउ

रामेछाप– झुटा विवरणका आधारमा नागरिकता दिलाएको आरोपमा रामेछापमा वडा अध्यक्ष र वडा सचिव पक्राउ परेका छन्। उमाकुण्ड गाउँपालिका– ७ नम्बर वडाका अध्यक्ष रुद्र बहादुर नेवार र वडा सचिव कैलाश कुमार खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले मोरङका निशान जोशीलाई निशान नेवारको नाममा नागरिकता दिलाएको प्रहरीले जनाएको छ। नक्कली आमा खडा गरी पैसा लिएर उनलाई नागरिकता दिलाएको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रहरीले जोशीलाई पनि पक्राउ गरेको छ। त्यस्तै आमा बनेर नागरिकता बनाउन सहयोग गर्ने दुनिमाया सुनुवार र मतियार हरि सुनुवारलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

निशानको बुबाको पहिलेदेखि नै बेपत्ता थिए। आमाको नागरिकता थिएन । जसकारण उनले आफ्नो नागरिकता बनाएन सकेनन्। उनको बिट्रिश आर्मीमा भर्ना हुने ठुलो सपना थियो। शरिर पनि फुर्तिलो थियो।

धरानमा भेट भएका हरि सुनुवारमार्फत उनले त्यसरी नक्कली आमा बनाउने नागरिकता लिएका हुन्। गत जेठमा उनले नागरिकता लिएका थिए। आमा बनेर नागरिकता दिने दुनिमायाकै आफन्तले त्यससम्बन्धि उजुरी गरेपछि घटना बाहिर आएको हो।

रामेछापका तत्कालिन सहायक सिडिओ सीताराम थापासँग पनि प्रहरीले बयान लिएको छ। निशानको नागरिकतामा उनले नै हस्ताक्षर गरेका थिए। उनलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले बताए।

समाचार स्रोत:-न्युज२४नेपालबाट |