Saturday, September 26

तपाईलाई थाहा छ ? भित्र केपी ओलीको स्वागत, बाहिर रुवाबासी “स्वागत संगै बाकसको कथा” मन थामेर पढ्नुहोला !

काठमाडौं । त्रिभुवन विमानस्थलमा पछिल्लो समय भीडभाड बढेको छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले आवतजावत गर्ने त मनग्ये हुने नै भए । तर बिहीबारको दृष्य अलि फरक थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली थाइल्याण्डको राजधानी बैंककबाट नियमित स्वास्थ्य परीक्षण सकेर स्वदेश फर्किंदै थिए । त्यसो त अध्यक्ष ओली भावी प्रधानमन्त्रीका रूपमा हेरिएका पात्रसमेत हुन् ।

नेपालको राजनीतिमा अतिरिक्त घटना भएन भने उनी प्रधानमन्त्री नियुक्त हुनेछन्, एक महिनाभित्रै । त्यसैले उनको स्वागतार्थ एमालेका जनसंगठनदेखि कार्यवाहक अध्यक्ष वामदेव गौतमसम्म विमानस्थल पुगेका थिए । भरिभराऊ थियो विमानस्थलको आगमन कक्ष ।

त्यो भीडभन्दा केही पर एउटी महिला बडो विक्षिप्त थिइन् । क्षणमै मुर्छा परेझैँ हुन्थिन् र केही बेरमा बौरिएर “काका !” भन्दै भक्कानिन्थिन् । उनको अघिल्तिर रातो बाकस (शव राखेको कफिन) थियो । कफिन लान हतार गरिरहेको भ्यान ।

धेरैबेर भक्कानिएपछि भतिजालाई हातले इशारा गरिन्, “अंकलको अन्तिम संस्कार राम्रोसँग गर है ! ” गाडीमा रहेका भतिजाले आश्वस्त पारे, “तपाईं सम्हालिनुहोस्, अकंलको चिन्ता लिनुपर्दैन । जे गर्नुपर्छ, सबै हामी गर्छौं ।”

यति भन्नेबित्तिकै भ्यान गुड्यो । उनले बाक्लो हत्केलाले आँसु पुछिन् र निःशब्द हुँदै बाटो लागिन् । त्यसको केहीबेरपछि अध्यक्ष ओली विमानस्थलमा अवतरित भए र सिधै विशिष्ट कक्षमा पत्रकारहरूसँग समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राखे । अध्यक्ष ओलीलाई ती वेदना र वियोगान्त दृष्य थाहा हुने कुरै भएन ।

तर, उनको स्वागतार्थ फूल ओइलाएर बसेका नेताकार्यकर्ता र विमानस्थल वरपर पंक्तिवद्ध मानिसहरूको पनि ध्यान त्यता गएन ।

 

जाओस् पनि कसरी ?

‘लास’ र ‘सास’हरूको आवतजावत विमानस्थलको दैनिकी हो । हरेक दिन सयौँको संख्यामा युवाहरू सपनाको पोकापन्तुरा बोकेर जहाजमा उठ्छन् । त्यस्तै सपनाको उडान भर्नेमध्ये सरदर दैनिक सात जना त्यसैगरी बाकसमा फर्कन्छन् ।

विमानस्थल यस्तो विद्रूप दृष्यको साक्षी बसेको वर्षौं भइसक्यो ।

बाकसको कथा

केपी ओली आउने निर्धारित समय थियो, १२ बजे । तर उनी १२ः४३ बजेमात्रै अवतरित हुने जानकारी पायौँ र हामी एकछिन टहलिन आगमन कक्षबाट केही पूर्वतिर बढेका थियौँ । आँखा पर्यो, कालो कपडाले घेरिएको कफिनमा ।

“कहाँबाट ल्याउनुभएको ?,” देख्नेबित्तिकै हामीले जिज्ञासा राख्यौँ । “यूकेबाट आएको !,” एकजना मंगोलिन अनुहारका आफन्तले प्रश्न भुइँमा झर्न नपाउँदै जवाफ फर्काइहाले ।
उनको अनुहारमा खासै पीडा झल्किएन । कालगतिले नै निधन भएको हुँदो हो, शायद । संक्षिप्त कुराकानीपश्चात उनीलगायत केही आफन्तले कफिन एम्बुलेन्समा राखेर गन्तव्यतिर हुइँकिए ।

पाँच मिनेट पनि व्यतीत भएको थिएन, अर्को कफिन आइहाल्यो । कफिन थियो नवलपरासी, मध्यविन्दु नगरपालिका–८ स्थायी वतन भएका वर्ष ४० का मानसिंह कुमालको । रोजगारीका लागि ४ वर्षअघि कतार पुगेका उनको दुर्घटनामा निधन भएको उनका भतिज अजय कुमालले जानकारी दिए ।

“गाडी बनाउने कारखानामा काम गर्नुहुन्थ्यो,” भतिजा कुमालले बाह्रखरीसँग पीडा पोखे, “काम गर्दागदैै अर्को गाडीले ठक्कर दिएछ, निधन भइहाल्यो ।” –साझापेजबाट |